साङरुम्बाकी पुष्पा राई सरौतोले सर्याम सर्याम पार्दै लामा लामा तीते करेलाको चाना काट्दै थिइन् । झट्ट हेर्दा लाग्थ्यो, निकै ठूलो भान्साको लागि तरकारी काटिँदैछ । नभएपनि सुकाएर पछिकालागि राख्नलाई हुनु पर्छ । तर, कुरा त्यस्तो थिएन ।
व्यावसायिक रूपमा लगाएर उत्पादन भएको अग्र्यानिक करेला बिक्री गर्ने बजार नभएपछि बाख्रालाई खुवाउन बाध्य भएको राईले बताइन् ।
“चार÷पाँचवटा माचमा झण्डै छ क्वीन्टल बढि करेला फलेको थियो,” उनले पिरोलो ओकेलिन्, “लकडाउन लम्बिइरहयो, सबैतिरको वगार वन्द । एक केजी बेच्न पाइएन । बर्खा मौषम, सुकाएर पनि साध्य भएन । यी यसरी काट्दै बाख्रालाई खुवाउँदैछौं ।”
बारीमा अझै निकै करेला उत्पादन भइरहेको छ । टिप्यो, ल्यायो, चाना काट्यो अनि अन्य घाँससंग मिलाएर दियो । बाख्रालाई करेला निकै मन पर्दो रहेछ, खाइरहेका थिए गर्याम गर्याम ।
खोरमा भएका वाख्राहरु कुनै दुब्ला थिएनन् । लाग्थ्यो, करेला खाएरै बलिया, चिल्ला भएका हुन् । त्यसो त पुष्पाको बाख्रा खोर मान्छेको घरभन्दा कम छैन । साथमा सरसफाई र अरु दानापानीसँगै आवश्यक स्वास्थ्योपचारमा पनि उनले उत्तिकै ध्यान पुर्याउँदै आएकी छिन् ।
अहिले ्खोरमा भएका १३ बाख्राको दैनिक भोजनमा झण्डै १२÷१५ किलो हरियो करेला खपत हुने गरेको राईको भनाइ छ । बजार नहुँदा दैनिक झण्डै एक हजार रुपैँया बाख्रैले खाएर सिध्याउँदैछन् । उनी त एक प्रतिनिधि पात्र मात्रै हुन् ।
गाउँघरतिर उनीगस्तै धेरै किसानहरु उत्पादित तरकारी वजार लान नपाई वंगुर तथा गाई बाख्रालाई उधारो दिन बाध्य छन् ।