बालबालिकालाई काेभिडबाट जाेगाउन पूर्वका ३० पालिकामा ७० लाखकाे परियोजना

  आवाज संवाददाता


इलाम । कोभिड १९ का कारण बालबालिकालाई परेको असर न्युुनीकरणको लागि पूर्वको ३० स्थानीय तहमा बिपद सहयोग परियोजना शुरु भएको छ । किण्डरमिसनरेक जर्मनीको आर्थिक लगानीमा मानव अधिकार मञ्च नेपाल मार्फत एक वर्षको लागि परियोजना शुरु भएको हो ।

नेपालमा कोभिडको तेस्रो भेरिएन्टको जोखिम भएको र तेस्रो भेरिएन्टको बालबालिकामा बढि जोखिम हुँने भएकाले बालबालिका लक्षित परियोजना शुरु भएको हो ।

परियोजना मार्फत कोभिड र हिंसाका कारण जोखिममा परेको बालबालिकाको आतकालिन उद्धार, आकस्मिक उद्धार गर्ने, मनोविमर्श सेवा दिने र संरक्षणमा सहयोग गर्ने, पारिवारिक पुर्नरमिलन, पुनरस्थापना तथा समन्वय र सहजिकरण हुने छ ।

त्यस मार्फत स्थानीय सरकारको विपद लक्षित सेवा प्रवाहलाई बालमैत्री रुपमा कार्यान्वयनको सुनिश्चितता गर्ने र कोभिड १९ जोखिमको बेला संस्थाको आपतकालिन सेवालाई प्रवद्र्धन र सेवा प्रवाह गर्ने मानव अधिकार मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्मा बताउँछन् । ‘अहिलेसम्म कोरोना संक्रमितको उपचार गर्न बनाइएका आइसोलेशन, अस्पताल पनि बालमैत्री छैनन’, उनले भने,‘नयाँ भेरियन्टबाट बालबालिका जोखिममा पर्ने तथ्य सार्वजनिक भइरहेको छ, त्यसैले बालमैत्री संरचना बनाउनु आवश्यक छ ।’

कोभिडको तेस्रो भेरिएन्टको बालबालिकामा बढि जोखिम भएकाले आइसोलेसन सेन्टरहरुमा २० प्रतिशत छुट्याउन समन्वय र सजिकरण गर्ने, आइसोलेसन सेन्टरमा स्वास्थ्य, खेलकुद तथा शैक्षिक सामाग्री सहयोगन गर्ने, जोखिममा परेका बालबालिकाको उद्धार संरक्षण स्वास्थ्योपचारमा सहयोग गरिनेछ । ‘आइसोलेसन वा अस्पतालहरुलाई बालमैत्री बनाउनुपर्नेछ’, विश्वकर्माले भने,‘अस्पताल र आइसोलेसनमा उपचार मात्रै गरेर भएन बालबालिकालाई भुल्याउने किसिमका सामाग्री पनि आवश्यक हुने रहेछ ।’

परियोजना इलाम, पाँचथर, ताप्लेजुङ्ग र तेह्रथुमको तीन पालिकामा गरेर २० वटा पालिकामा परियोजना सञ्चालन हुने कार्यक्रम संयोजक भक्त थामीले जानकारी दिए । एक वर्षमा कार्यान्वयन हुने परियोजनाको बजेट ७० लाख १४ हजार रुपैयाँ छ । राष्ट्रिय बाल अधिकार परिषद, स्थानीय सरकार, प्रहरी, बाल अधिकार समितिको समन्वयमा गतिविधि गरिने छ । मानव अधिकार मञ्चले १०९८ नम्बरको बाल हेल्प लाइन चलाउँदै आएको छ । बाल हेल्पलाइन २०७७ चैत ४ गतेबाट सञ्चालनमा ल्याएको हो । बालहेल्पलाईनमा अहिलेसम्म २६ वटा उजुरी परेका छन् । हालसम्म दुई बालक र तीन बालिका गरी पाँच जनाको उद्धार गरिएको भने तीन जनालाई अल्पकालिन अस्थायी आवास सहयोग गरिएको मानव अधिकार बाल हेल्पलाईनका संयोजक समेत रहेको भक्त थामीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार