झापामा एक महिलाको शव फेला परेको छ। सोमबार बिहान साढे ६ बजे अर्जुन्धारा नगरपालिका वडा नम्बर १० घर भई वडा नम्बर ६ बिहानी टोलमा डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो।
४५ वर्षीया सावित्रा बिक डेराबाट करिब एक सय मिटर पर मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। बिक मृत फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय अनारमनीमा सम्पर्क गरेका थिए। खबरपछि प्रहरी नायब उपरीक्षकसहितको टोली खटिएको थियो।ट्रान्सफर्मर रहेको विद्युतीय पोलमुनि उनको शव भेटिएको थियो।
उनको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। तर यो कुरा पोष्टमार्टमपछि मात्रै पुष्टि हुने प्रहरी नायब उपरीक्षक थापाले बताए।बिकको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको थियो। काँधका केही भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।विद्युत प्राविधिक कर्मचारीलाई घटनास्थलमा बोलाएर परीक्षण गर्दा तारबाट करेन्ट प्रवाह भएको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले शवको पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।