इलाम । सरकारले परीक्षाको तयारीमा रहेका कक्षा ११ र १२ तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई खोप दिइने बताए पनि इलाममा भने कक्षा ११ र १२ का विद्यार्थीहरुले खोप नपाउने भएका छन् ।
जिल्लामा आजदेखि शुरु हुने खोप तालिकामा विश्वविद्यालयका परीक्षार्थीहरुलाई खोप दिइने जनाइएको छ । तर, कक्षा ११ र १२ को विद्यार्थीहरुलाई हाल खोप नदिइने स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासले बताए । माथिल्लो निकायबाट गरिएको परिपत्रमै विश्वविद्यालयका विद्यार्थीहरुलाई मात्र खाेप दिने उल्लेख भएकाले कक्षा ११ र १२ को विद्यार्थीहरुलाई अहिले खोप नदिइने उनले बताए ।
सरकारले भने कक्षा ११ र १२ का विद्यार्थीहरुलाई पनि खोप दिएर मात्र स्थगित परीक्षा सञ्चालन गर्ने जनाएको थियो । सोही अनुसार राष्ट्रिय परीक्षा बोर्डले पनि विद्यार्थीहरुलाई प्रवेश पत्रसहित खोप केन्द्रमा गएर खोप लगाउन भदौ १० गतेनै सूचना जारी गरेको थियो । सोही सूचनाको आधारमा १८ वर्ष पूरा भएका इलामका विद्यार्थीहरु पनि खोपको प्रतिक्षामा थिए । तर, स्वास्थ्य कार्यालयले भने परिपत्र नभएको भन्दै खोप नदिने जनाएकाे छ । यता बोर्डको सूचनामा कक्षा १२ का विद्यार्थीहरुलाई खोप दिनका लागि स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य सेवा विभाग, निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई परिपत्र गरेको जनाएको छ ।
सरकारको निर्णय बमोजिमनै काठमाण्डौ लगायत केही जिल्लामा कक्षा ११ र १२ का १८ वर्ष पूरा भएका विद्यार्थीहरुले खोप लगाइसकेका छन् ।