इलाममा सम्बन्धविच्छेदका घटना दर बढ्दै

दश वर्षअघि १४ वर्षकै उमेरमा प्रेम विवाह गरेकी एक महिलाका अहिले दुई छोरा र एक छोरी छन् । १२ बर्षको ठूलो छोरो र ७ वर्षका एक छोरा–एक छोरी छन् । तीन सन्तानकी आमा बन्दा समेत पतिबाट माया पाउन नसकेपछि गएको फागुनमा उनले जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराइन् ।
मुद्दा दर्ता गराए पछि पनि पटक–पटक पतिबाट फोनको धम्की खेपिरहेकी ती महिलाको मुद्दाको फैंसला भने भएको छैन । ‘पतिले मदिरा सेवन गरि रातदिन कुटपिट गर्ने र छोराछोरीलाई समेत खान नदिने भएपछि उनी जुम्ल्याहा छोराछोरी लिएर अलग्गै बस्दैछन् । ‘नत बाहिर काम गर्न जान दिन्छ, नत बेलुका खाने कुरा ल्याउँछ, नानीहरु भोकले रुनथालेपछि म माथि कुटपिट गर्न थाल्छ ।

    पीडा सहन नसके पछि दुई छोराछोरी लिएर एक्लै बस्दैछु, ठूलो छोरो उस्कै बाबुसँग बस्दैछ ।’ उनले भनिन् ‘सानैमा नजानेर विवाह गरियो, अब दुःख पाएपछि उ सँग बस्न सक्ने अवस्था छैन, सम्बन्ध विच्छेद गर्ने प्रक्रियामा छु ।’
पति विदेश गएको एक वर्ष नबित्दै अर्की एक महिला आफ्नो घर छोडेर माइती घरमा बस्दै आएकी छन् । चार वर्षीय एक छोरालाई साथै लिएर माइती घरमा बसेको पनि डेढवर्ष भइसकेको छ । घरमा सासु र आमाजुले फरक व्यवहार गरेपछि घर छोडेर माइतमै बसेको ती महिला बताउँछिन् । ‘शुरुको छ महिना सम्म त श्रीमानले विदेशबाट पैसा मलाइनै पठाए, क्रमशः पैसा आमाजुको नाममा पठाउन थालेपछिमात्र मलाई नराम्रो व्यवहार गरेको भन्ने थाह भयो ।’ सदरमुकाम आइपुगेकी उनले भनिन् ‘घरमा अर्कै सँग् आँखा लगाउने, खानै नदिने जस्ता व्यवहार हुन थालेपछि छोरालाई लिएर माइती आएं । श्रीमानले अहिले फोन पनि गर्दैनन्, मैले गरेको उठाउँदैनन्, श्रीमति र छोराको विषयमा खोज खबरनै छैन ।’
पतिबाट पनि खोज खबर नभएर एक्लिए पछि उनी पनि सम्बन्ध विच्छेद गर्नै ठाउँमा आइपुगेको बताउँछिन् । यी दुई महिला सम्बन्ध विच्छेद गर्ने प्रतिनिधि पात्रमात्र हुन । जिल्लामा सम्बन्ध विच्छेदको घटनाको दर भने बढ्दो अवस्थामै छ ।
जिल्ला अदालतका अनुसार गएको एक वर्षमा ३६८ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । ती मध्ये २४९ वटाको त फैंसलानै भएको छ । ‘सम्बन्ध विच्छेदका मुद्दाको प्रकृति हेर्दा बाल विवाह, वैदेशिक रोजगार मुख्य कारण देखिने गरेको पाइन्छ ।’ अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराईले भने ‘सानै उमेरमा विवाह गरे, पछि आफू बुझ्ने भएपछि समस्या आयो अनि सम्बन्ध विच्छेद गर्न आए गर्छन् ।’ वैदेशिक रोजगारीले गर्दा पनि पति–पत्नी बीच वेमेल हुँदा सम्बन्ध विच्छेद सम्म पुग्ने अवस्था आएको धेरै मुद्दा रहेको जनाइएको छ । एकै दिनमा सम्बन्ध विच्छेदका दशवटा सम्म मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार बाबु–आमाको सम्बन्ध विच्छेदले उनीहरुका छोराछोरीमा भने प्रत्यक्ष असर देखिएको छ । धेरै बालबालिका आमा सँगै बस्न रुचाउने गरेको भट्टराईको भनाइ छ । ‘पाँच वर्ष मुनिका बच्चाहरु त आमा संगै पठाइन्छ, पाँच वर्ष माथिका पनि अधिकांश बच्चा आमा सँगै बस्न रुचाउँछन् ।’ भट्टराईले भने ‘उनीहरुलाई रेखदेख र मानाचामल बाबुबाटै हुने गरि पनि पठाउनु पर्ने बाध्यता । आमा–बाबुको सम्बन्ध विच्छेदले बालबालिकामा मनोवैज्ञानिक असर देखिएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार