सुरुवाती अग्रता जोगाउन नसक्दा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको छ ।दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल फर्काए ।
त्यसअघि ३२ औं मिनेटमा नेपालले पेनाल्टी एरिया बाहिर फ्रिकिक पाएको थियो । त्यसमा अन्जन विष्टको प्रहार पोष्टभन्दा धेरै माथिबाट बाहिरिएको थियो ।पहिलो हाफमा पछि परेको भारतले दोस्रो हाफमा चार खेलाडी परिवर्तन गरेको थियो । ५० औं मिनेटमा अनिरुध थापाको फ्रिकिकमा कप्तान सुनील क्षेत्रीले पोष्ट नजिकबाटै प्रहार गरेको बल नेपालका गोलकिपर किरणले बचाएका थिए ।
६० औं मिनेटमा भारतका वैकल्पिक खेलाडी अनिरुध थापाले गोल गर्दै खेल बराबरी गरे । कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाए पनि पूर्ण रुपमा क्लियर नभएपछि अनिरुदले गोललाइनबाटै जाली चुमाए ।अनिरुध दोस्रो हाफको सुरुमै ब्रान्डन फर्नान्डेजको स्थानमा मैदान प्रवेश गरेका थिए ।
६५ औं मिनेटमा नेपालले तीन खेलाडी परिवर्तन गर्दै मनिस डाँगी, सुनिल बल र विशाल राई मैदान प्रवेश गरेका थिए । मनिष नवयुगको स्थानमा, सुनील आयुष घलान र विशाल सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका हुन् ।८३ औं मिनेटमा भारतका मनविर सिंहले पेनाल्टी एरिया भित्रबाट प्रहार गरेको बल गोलपोष्टको दिशा लिन सकेन । इन्जुरी टाइममा सुमन अर्यालको पासमा मनिष डाँगीको हेडर पोष्ट नजिकैबाट बाहिरिएको थियो । नेपाल र भारतबीच अर्को खेल आइतबार हुनेछ ।