इलाम । इलाम बजार बस्दै देखि फोहोर बग्ने खोल्सीकाे रुपमा रहेको स्थललाई इलाम नगरपालिकाले पर्यटकहरु घुम्ने स्थलका रुपमा विकास गर्न थालेको छ ।
इलाम अस्पतालसँगै जोडिएको खोलीको भागलाई नगरपालिकाले संरक्षण गर्दै तरकारी बजार, स्रस्टा पार्क, व्याडमेन्टिन कोड देखि आँखा अस्पताल निर्माण सम्मका काम प्रारभ्म गरेसंगै खोलीको स्वरुपनै परिवर्तन भएको छ । तरकारी बजारदेखि तल सिंढी तथा रेलिङले जोडिएको बाटो र सँगै निर्माण भइरहेका स्रस्टा पार्क, कर्वड हल, सार्वजनिक शौचालय, कृषिथोक गर्दा इलाम बजारलाई थप व्यवस्थित पार्न सहयोग पुर्याएको छ ।
जिल्लाकै पुरानो नगरपालिकाका रुपमा रहेको इलाम नगरपालिकाले जिल्ला र देशका लागि विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुको सम्मान स्वरुप स्रस्टा पार्क निर्माण भइरहेको जानएको छ । नगर कार्यपालिकाको बैठकले इलाममा रहेर योगदान गर्ने शहीद देखि विभिन्न क्षेत्रमा कृयाशील व्यक्तिहरुको सम्मान स्वरुप शिलालेखमा उनीहरुको नाम उल्लेख गर्ने निर्णय गरेको थियो । स्रस्टा पार्कमा चित्रकला, मूर्तिकला, सामाजिक क्षेत्र, राजनीतिक क्षेत्र, नृत्य, संगीत, खेलकुद, साहित्य र पत्रकारिता क्षेत्रमा समेत योगदान गर्ने व्यक्तिहरुको नाम राख्ने काम भइरहेको नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताए । नगरपालिकाले गठन गरेको स्रस्टा छनौट समितिले कार्यपालिकामा बुझाएको नामहरुलाई स्रस्टा पार्कमा राख्ने गरि व्यक्तिहरुको नाम पनि टुङ्गो लगाइएको श्रेष्ठले जानकारी दिए ।
स्रस्टा पार्क सँगै जोडिएको डाक्टर र नर्सको प्रतिमा स्थलले स्वास्थ्यकर्मीहरुको सम्मान भन्ने त जनाएकै छ । यसले इलाम घुम्न आउने पर्यटकहरुका लागि थप घुम्ने स्थानका रुपमा विकास भएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।
नगरपालिकाले यसैबर्ष इलाम आँखा अस्पताल निर्माण पनि शुरु गरको छ । सिंहबाहीनी मन्दिर नजिक रहेको जग्गामा आँखा अस्पताल निर्माण थालिएको हो । ‘सिंहबाहीनी खोल्सीका कारण धेरै जग्गा काम नलाग्ने थियो, खोल्सी पुरेर त्यहाँ धेरै जग्गा निकालिएको छ ।’ नगरप्रमुख महेश बस्नेतले भने ‘नयाँ ठाउँको खोजी भन्दा बिग्रीएका जग्गाहरुको सदुपयोग कसरी गर्ने भन्नेमा सचेत रहेर हामीले त्यो जग्गामा आँखा अस्पताल बनाउने निर्णय गरेका हौं ।’ नगरपालिकाले यो वर्ष ५० लाख रुपियाँको लागतमा अस्पताल निर्माण शुरु गरेको र प्रदेश तथा संघीय सरकार संगको समन्वयमा अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बस्नेतको भनाइ छ । नगरपालिकाले अस्पताल छेउको सिंहबाहीनी खोल्सीलाई प्रयोगमा ल्याउन एक करोड रुपियाँ खर्च गरेको जनाएको छ ।