मनिषा कोइरालाः कसरी बलिउडमा स्थापित भइन् ?

  आवाज स‌वाददाता


बलिउडकर्मीसँग यस्तो थियो मनिषाको हिमचिम

बैशालु उमेरमा चमकदमकपूर्ण जीवन विताएकी अभिनेत्री मनिषा कोइराला करियरको उत्तराद्र्धमा छिन् । सलमान खान, अनिल कपुर, शाहरुख खान, आमिर खानलगायत एक से एक बलिउड सुपरस्टारसँग स्क्रिन शेयर गर्ने उनी यतिबेला ‘आमा’को भूमिकामा देखिदैछन् ।
बिवाह, सम्बन्ध बिच्छेद, क्यान्सर रोग जस्ता अप्रत्यासित परिघटनाबाट गुज्रदै आएकी मनिषाको फिल्मी जीवन पुन तङ्ग्रिएको छ । उनी अभिनित ‘डियर माया’को ट्रेलर सार्वजनिक भइसकेको छ । त्यस्तै, राजकुमार हिरानी निर्देशित संजय दत्तको बायोपिकमा समेत उनी देखिदैछन् । लामो बिश्रामपछि बलिउड फर्किएकी मनिषाको बर्तमान फिल्मका साथै धार्मिक अनुष्ठानमा वित्दो छ । हालै मात्र उनी ‘द कपिल शर्मा शो’मा पुगेकी थिइन्, फिल्म डियर मायाको प्रमोसनको मेसो मिलाउँदै ।
मनिषा त्यस्ता नेपाली चेली हुन्, जसले बलिउड जस्तो विश्वकै ठूलो फिल्मी उद्योगमा आफ्नो दर्बिलो उपस्थिती जनाए । सौदागर, मन, अ लभ स्टोरी १९४२, दिल से, अग्नी साक्षी, अकेले हम अकेले तुम, खामोसी जस्ता सुपरहिट फिल्म दिएकी उनी ९० को दशकमा निकै चम्किएकी थिइन् । उनले पाँचवटा भाषाको लगभग ८० भन्दा बढी फिल्म खेलिन् ।

कहिले ‘हेल्थ टिप्स’ दिदै, कहिले गेरु बस्त्रमा

अनेक उतार–चढावबीच आफ्नो करियरलाई सन्तुलित ढंगले अवतरण गर्ने प्रयासमा रहेकी मनिषा कहिले हेल्थ टिप्स बाढिरहेकी हुन्छिन्, कहिले गेरुबस्त्र धारण गरेर धार्मिक अनुष्ठानमा सहभागी हुन्छिन् । खासगरी क्यान्सरको उपचारपछि तङ्ग्रिएकी उनी अरुलाई पनि स्वास्थ्यप्रति सचेत रहन सर्तक गराउँछिन् । उनले अहिले आफ्नो स्वास्थ्यलाई नै प्राथमिकतामा राखेको बताउँछिन् । त्यस्तै, आध्यात्मिक झुकाव पनि बढेको छ । उनी पाइलट बाबाको आश्रममा पुग्ने गरेकी छिन्, पटक–पटक । उनलाई पाटेघरको क्यान्सर भएको थियो, सन् २०१२ मा ।

डाक्टर होइन मोडल बनिन्

मनिषको सुरुवाती पढाई वाराणसीको वसन्त कन्या महाविद्यालयबाट भयो । त्यपछि उनी माध्यामिक तहको पढाईका लागि उनी आर्मी स्कुल धौलकुआं नयाँ दिल्ली पुगिन् ।
उनी डाक्टर बन्न चाहन्थिन् । तर, उनको रुची मोडलिङतर्फ मोडियो । उनले सन् १९८९ मा नेपाली फिल्म ‘फेरी भेटौला’मा अभिनय गरिन् । उनी भारतनाट्यम र मणिपुरी नृत्यमा पनि परांगत छिन् । तमिल फिल्म हुँदै बलिउड प्रवेश गरिन् । हिन्दी फिल्म सौदागरबाट उनले बलिउडमा पाइला टेकेकी हुन् ।

नफापेको दाम्पत्य

बलिउडमा जुनबेला मनिषा चम्किएकी थिइन्, त्यहीका कलाकर्मीदेखि फिल्ममेकरसम्म उनको नाम जोडिन्थ्यो । कहिले नाना पाटेकर त कहिले सुभाष घईसँग जोडिएर मनिषाको चर्चा गरिए । तर, उनी अबिवाहित रहिन् । करिब करियरको उत्तराद्र्धतिर उनले जीवन साथी पाएको खबर बाहिर आयो । मनिषाले आफ्नो लागि एक नेपाली व्यवसायी युवा रोजे, जसको नाम थियो सम्राट दाहाल । आफुभन्दा कान्छा उमेरका उनले सम्राटसँग धुमधाम बिवाह गरे, काठमाडौंमै । निकै चर्चामा रहेको मनिषाको बिहेको निम्तो मान्दै केहि बलिउडकर्मीसमेत काठमाडौं आए । तर, सम्राट–मनिषाको दाम्पत्य लामो समय टिक्न पाएन । अनेक खटपटबीच उनीहरु अघोषित रुपमा अलग भए ।
अहिले उनले भन्ने गरेकी छिन्, ‘त्यो बिवाह गर्नु मेरो ठूलो भूल थियो । मैले हतारमा त्यस्तो गल्ती गरें ।’

को–कोसँग जोडियो मनिषाको नाम ?

९० को दशकमा मनिषाको चमकदमक बेग्लै थियो । त्यहीताका हो, उनको अफेयरको एकपछि अर्को चर्चा चलेको पनि । सुरुमा उनी विवेक मुश्रानसँग नजिकिएकी थिइन् । विवेकले मनिषासँगै सौदागरमा अभिनय गरेका थिए । तर, उनीहरुको सम्बन्ध लामो समय रहेन । त्यसपछि उनी अष्ट्रेलियन राजदुत क्रिप्सिन कोनोरीसँग अफेयरमा रहिन् । उनीहरुबीच इंगेजमेन्ट समेत भएको थियो, २००२ मा । तर, पछि मनिषाले उनलाई बाइबाई गरिन् ।
त्यसपछि मनिषा अभिनेता नाना पाटेकरसँग जोडिइन् । अग्नी साक्षीमा मनिषाले उनैसँग स्क्रिन शेयर गरेकी थिइन् । तर, बिवाहित नाना पाटेकरसँगको सम्बन्धले पनि राम्ररी बिट मार्न पाएन । उनीहरु छुटिए । अब मनिषाको नाम हुशेनसँग जोडियो । उनीहरुको रहस्यमय सम्बन्ध पनि अन्ततः पूर्ण विराम लाग्यो ।
सन् २००३ मा लन्डन गएकी मनिषा त्यही नै नाइजेरियन व्यापारी सेसिलसँग नजिकिए । उनलाई भेट्नकै लागि मनिषा लन्डन पुग्थिन् । त्यसपछि मनिषा अर्यान भाइदसँग जोडिन आइपुगिन् । त्यस्तै प्रशान्तसँग पनि उनको नाम जोडियो । त्यसो त सन् २००७ मा उनको संगित निर्देशन सन्दीप चोट्वासँग अफेयर रहेको पनि चर्चा थियो । त्यसपछि उनी लेखक तथा खेल परामर्शदाता क्रिष्टोफरसँग रोमान्स गर्न आइपुगिन् । तर, यी कुनैपनि सम्बन्धको ह्याप्पी इन्डिङ हुन पाएन ।

क्यान्सरसँग पैठेजोरी

दाम्पत्य जीवन टुट्यो । मनिषा अलग भइन् । बलिउडमा पनि उनको उपस्थिती सून्य जस्तै थियो । ठीक यहिबेला हो, उनलाई क्यान्सरले गाँजेको । सन् २०१२ मा उनलाई पाटेघरको क्यान्सर भएको थाहा भयो । उपचारका लागि उनी मुम्बईको जसलोक अस्पतालमा भर्ना भइन् । त्यहाँबाट पार नलागेपछि उनी अमेरिका पुगिन् । त्यहाँको सफल उपचारपछि उनले पुर्नजीवन पाएकी हुन् ।

नजिकबाट मनिषा
जन्म– १९७० अगस्ट १६
जन्मस्थल–काठमाडौं
करियर सुरुवात– फेरी भेटौंला (१९८९)
मातापिता– प्रकास कोइराला र सुष्मा कोइराला
नातिनी– विश्वेश्वरप्रसाद कोइराला

करियर

मनिषाको बलिउड करियर सन् १९९१ बट सुभाष घई निर्देशित फिल्म सौदागरबाट भएको हो । उनी त्यसबेलाका लिजेन्ड कलाकार राजकुमार–दिलीपकुमारसँग एकसाथ ठूलो पर्दामा देखिएकी थिइन् । यहि फिल्म उनको सबैभन्दा ठूलो ब्लकबस्टर हिट फिल्म साबित भयो । करियरको पूर्वाद्ध सानदार रह्यो । उनी रातारात हिट भए ।
वास्तवमा अन्य बलिउड समकक्षी जस्तै फिल्मी पृष्टभूमी थिएन उनको । गैर फिल्मी पृष्टभूमीबाट आएपनि उनले आफ्नो अभिनय क्षमताको कारण हिन्दी सिनेमामा सर्बश्रेष्ठ अभिनेत्रीमा आफ्नो नाम दर्ता गरिन् । सन् १९९६ मा पार्थो घोष निर्देशित फिल्म अग्नि साक्षी र निर्देशक संजय लीला भन्सालीको फिल्म खामोशीले मनिषालाई बलिउड उद्योगको टप लिडिङ हिराइन बनाइदियो ।
दुबै फिल्ममा उनलाई भिन्न भिन्नै रुपमा देख्न सकिन्थ्यो । अग्नी साक्षीमा मनिषाले एक रोगी पतिको ख्याल गर्ने पतिव्रता पत्नीको भूमिका निर्वाह गरिन् । त्यसैगरी खामोशीमा आवाजविहिन आमाबुवाकोख्याल राख्ने प्यारी छोरीको रुपमा देखिइन् । दुबै फिल्ममा उनले निर्वाह गरेको शसक्त भूमिकाले आलोचकलाई जिब्रो टोक्न बाध्य तुल्यायो ।
सन् १९९७ मा मनिषा बबी देओल र काजोलको अपोजिट फिल्म गुप्त द हिडन ट्रुथमा देखिएकी थइन् । यो पनि ब्लकबस्टर साबित भयो । त्यहीबर्ष मणि रत्नम निर्देशित फिल्म दिल सेमा उनले शाहरुख खानसँग स्क्रिन सेयर गरिन् । यस फिल्मबाट उनले आलोचकको राम्रो तारिफ बटुलिन् । साथै फिल्म फेयर बेस्ट एक्ट्रेसको अवार्ड समेत हात पारिन् ।
त्यसपछि उनी अजय देवगन स्टारर फिल्म कच्चे धागेमा देखिए । अर्को फिल्म मनमा उनले आमिर खानसँग स्क्रिन शेयर गरिन् । यो फिल्मले उनको करियरलाई थप उचाईमा पु¥यायो । त्यस बर्षको सर्वाधिक हिट फिल्ममा दरियो, मन ।
२००० मा उनी मल्टीस्टारर फिल्म लज्जामा देखिइन् । २००२ मा अजय देवगनसँग कम्पनी फिल्म खेलिन् । यस फिल्मको लागि उनले तेस्रो फिल्म फेयर क्रिटिक्स अवार्ड पाइन् ।
२००३ मा उनी कम बजेटको फिल्ममा देखिए । यहिबर्ष केन्द्रित फिल्म इस्केप फ्रम तालिबानमा अभिनय गर्न पुगिन् । त्यस फिल्मका लागि उनलाई बंगाल फिल्म जर्नलिस्ट एसोसिएशन अवार्डबाट सम्मानित गरियो ।
पछि मार्केट नामको फिल्म खेलिन् । त्यसबाट पनि उनले राम्रो प्रतिक्रिया पाइन् । फिल्मले बक्स अफिसमा राम्रो कारोबार ग¥यो ।

निर्मात्री पनि

मनिषा अभिनेत्रीका साथै एक निर्माता पनि हुन् । उनले फिल्म मेकिङको डिप्लोमा न्युयोर्क युनिभर्सिटीबाट गरेकी हुन् । उनले आफ्नो ब्यानरमा पैसा वसूल नामको फिल्म बनाइन् । यस्तो फिल्म बलिउडमा अहिलेसम्म बनेकै थिएन । यस फिल्ममो लिड रोलमा सुष्मिता सेन थिइन् । फिल्ममा न हिरो थियो, न लभ स्टोरी ।
२००७ मा उनी फिल्म अनवरमा एक सपोर्टिङ एक्ट्रेसको भूमिकामा देखिइन् । हिन्दी फिल्ममा उनले मुम्बई एक्सप्रेसबाट जबरजस्त कमब्याक गरिन् । यस फिल्ममा उनी इफरान खानसँग देखिए । फिल्म राम्रो भएपनि खराब मार्केटिङको कारण बक्स अफिसमा कमाल देखाउन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार