फुटबल : कीर्तिमान नजिक किरण !

  आवाज संवाददाता

काठमाडौं । आइतबार अर्थात रवीबार । सप्ताहको सुरुवाती दिन, जहाँ सूर्य भगवालाई पुजिने गरिन्छ । सूर्यका रश्मिलाई नै किरण भनिन्छ । सूर्यनै आत्मा हुन् । ती आत्माबाट आउने कर्णलाई नै किरण भनिन्छ । त्यहीँ किरण नै आत्मबल हो ।

नेपाली फुटबलका लागि किरण पनि रवीबारकै दिन इतिहास बनाउने संघारमा छन् । कुरा जोडिन्छ, नेपाली फुटबल टोलीका कप्तान किरणसँग । डेब्यु खेलमै चोट खेपेका किरण मैदानमा फर्कने स्थितिमा थिएनन् । आत्माबलकै कारण चोट निको पार्दै किरण एउटा इतिहासको खुड्किलाे पार गर्दैछन् ।

दशरथ रंगशालामा भारतविरुद्ध उत्रदै गर्दा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बु ‘चेम्जोङ’का लागि विशेष दिन हुनेछ । भारतविरुद्ध खेलमा नेपालको रेकर्ड खासै राम्रो स्थितिमा नरहे पनि किरणको व्यक्तिगत जिन्दगीमा भने यो खेलले निकै अर्थ राख्छ ।

दरशथ रंगशामा साझ साढे ५ बजे सुरु हुने खेलमा यदी ‘प्लेईङ सेट’ मा रहे किरणले नेपाली फुटबलमा कीर्तिमान बनाउने छन् । किरण राष्ट्रिय फुटबलमा सर्वाधिक ७४ क्याप जित्ने पहिलो खेलाडी बन्नेछन् ।

गत बिहीबार किरणले पूर्वकप्तान विराज महर्जनको नाममा रहेको ७३ क्याप बराबरी गरेका थिए । ३१ वर्षे किरणले यस अघि पूर्वखेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यलाई पछि पारेका थिए ।

किरणले २४ मे २००८ मा मकाउविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । नेपालका लागि जर्मन प्रशिक्षक थोमस फ्लाथले किरणलाई ‘प्लेईङ सेट’ मा राख्दै डेब्यु गराएका थिए ।

एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध २३ मिनेटमात्रै खेलेका किरण चोटका कारण मैदान छाड्न बाध्य भए । त्यसयता करिब १३ वर्ष राष्ट्रिय टोलीबाट खेलेका किरणले आफू यो अवसरसम्म आइपुग्नेमा आशावादी नभए पनि मिहिनेतका कारण यो उपलब्धि हासिल गरेको बताए । ‘डेब्यु खेलमा नै घाइते भएपछि यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन । निरन्तर मिहिनेतले नै यहाँसम्म आइपुगेको छु,’ कप्तान किरणले न्युज कारखानासँग भने । ‘देशका लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ किरण भन्छन् ।

किरणले यसअघि सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध पहिलो पटक कप्तानी ‘आर्मब्याण्ड’ लगाउन पाएका थिए । कप्तानी रुपमा पहिलो पटक नेपालमा आयोजना भएको थ्रि नेसन्स कपको उपाधि हात पारेका हुन् । किरणका यी दुई उपलब्धिका साक्षी प्रशिक्षक बालगोपाल महर्जन हुन् ।

किरणले घरेलु लिगमा मछिन्द्र, थ्रिस्टार, मनाङ मर्स्याङ्दी र मोफसलमा नेपाल पुलिसबाट समेत खेलेका छन् । पहिलो नेपाल सुपर लिगमा उपविजेता धनगढी एफसीको आइकोनिक खेलाडीको रुपमा खेले । किरणले माल्दिभ्सको टिसी स्पोर्टस् क्लब र भारतको आई लिग मिनर्वा पञ्जाबबाट लिग उपाधि हात पारेका छन् ।

भारत र माल्दिभ्समा किरण लिगमै सर्वाेत्कृष्ट गोलरक्षक चुनिएका थिए । घरेलु लिगमा भने किरणले थ्रिस्टारबाट लिग उपाधि हात पारेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार