अलैंची टिप्न ब्यस्त इलामका किसान

  आवाज संवाददाता

इलाम । आर्थिक उपार्जनको राम्रो माध्यम बन्ने गरेको अलैंची इलामको तल्लो भेगमा टिप्न शुरु भएको छ । जिल्लाको तल्लो क्षेत्र सलकपुर, जिर्मले, मार्सेलगायतका स्थानहरुमा यतिबेला किसानलाई अलैंची टिप्ने धमाधम छ । जिर्मले जातको अलैंची लगाइएको यो क्षेत्रमा गतवर्षहरु भन्दा कम अलैंची उत्पादन हुने अवस्था देखिएको कसानहरु बताउँछन् ।

रोङ गाउँपालिका स्थित मार्सेका किसान मोहनलाल कट्टेलको यो वर्ष करिब २५ मन सुख्खा अलंैची उत्पादन भयो । गतवर्ष भन्दा केही कम उत्पादन भएपनि अब दुईचार वर्षमात्रैै आफ्नो बगानले यसरी उत्पादन दिने कट्टेलको भनाई । हिउँद याममा आकाशे वर्षा नभएका कारण पनि सिचाईं हुन नसक्दा अलैंची सुकेर कम फल लागेको किसानले बताएका छन् ।

जिर्मले जातकै उद्गमस्थलका रुपमा रहेको रोङ गाउँपालिकाकै जिर्मले स्थित सलकपुरमा त यो वर्ष सोच्नै नसकिने गरि अलैचीको उत्पादन घटेको छ । ‘गतवर्ष पाँच मन सुख्खा अलैंची आएको बगानमा यो वर्ष बल्लतल्ल एक मन अलैंची उत्पादन भयो ।’ सलकपुरका किसान याम अधिकारीले भन्नुभयो ‘अहिले त सलकपुर क्षेत्रमा अलैंची बगान मास्सिएको अवस्था छ । बोट भएको स्थानमा राम्रै फलेको छ तर, अधिकांश बगानहरु रातो भएर मरेको छ ।’

सलकपुरमा गतवर्षहरुमा जस्तो यो वर्ष विरुवा उत्पादन र बिक्री पनि भएन । टिप्न ठिक्क भएको अलैंची कोभिडका कारण कति किसानले त टिप्न पनि नपाएको अधिकारीले जानकारी दिनुभयो । ‘भदौको पहिलो साता तिर यहाँ अलैंची टिपिसक्नु पर्छ तर, केही किसानको त अझै अलैंची टिप्न सकेको अवस्था छैन, बगानमै कुहिन पनि थालेको छ ।’ अधिकारीले भन्नुभयो ‘कोभिडबाट संक्रमितको संख्या यहाँ धेरै भयो । खेताला, अर्मपर्म पनि जान सक्ने अवस्था रहेन, त्यसकारण पनि फलेको अलैंची समेत कुहिने अवस्था आयो । उत्पादनमा हरेक कारणले असर प¥यो ।’ छ सय देखि एक हजार दुई सय मिटर उचाइ भित्र खेती हुने यो जिर्मले जातको अलैंची दाना कालो, पातलो बोक्रा हुने कारण अन्य जातको भन्दा केही बढी मुल्यमा बिक्री हुनेगरेको किसानको भनाइ छ ।

जिर्मले भन्दा माथिल्लो क्षेत्रमा पनि हुने अन्य जातको अलैंची पनि क्रमशः पाक्न शुरु गरेको छ । राम साइ, गोल साइ, भार्लाङ जातको अलैंची पनि टिप्ने बेला हुनै लागेको इलाम सुलुबुङका किसान कृष्ण पौडेलले बताउनु भयो । ‘नयाँ लगाएको विरुवा निकै राम्रो छ । यो वर्ष हिउंद याममा पानी नरेका कारण सिचाईं कम भएकाले फल अलि कम लागेको छ ।’ पौडेलले भन्नुभयो ‘पुरानो बगान चाँहि वर्षेनी सकिंदो अवस्थामा छ ।’ वर्षौं यता अलैंचीमा देखिएको ढुसी, डढुवा, फुर्के, छिर्कै जस्ता रोग नियन्त्रण हुुनै नसक्दा किसानले अलैंचीबाट घाटा सहनु परेको पौडेलको भनाइ छ । जिल्लामा भदौ पहिलो सातादेखि शुरु भएको अलैंची टिपाइको काम उच्च भेगमा कार्तिक महिना सम्म टिपाइ हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार