इलाम । नेपाली कांग्रेसकाे पालिका तथा जिल्लाकाे अधिवेशनकाे सरगर्मी बढिरहेकाे बेला उम्मेद्वारी घाेषणा पनि भकाभक हुन थालेकाे छ । कांग्रेस नेता डम्बर खड्काले नेपाली कांग्रेस इलामको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । सदरमुकाममा पत्रकार सम्मेलन गरेर खड्काले नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनमा जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरेका हुन् । खड्का १३ औ महाधिवेशनमा पनि सभापतिमा भिडेका थिए । त्यसबेला उनीले तेस्रो स्थानमा सीमित बनेका थिए ।
खड्काले जिल्ला सभापति सहित प्यानलै घोषणा गरेका हुन् । खड्का नेतृत्वको टिमबाट एक नम्बर निर्वाचन क्षेत्रको सभापतिमा भिष्म प्रधान र २ नम्बर निर्वाचन क्षेत्रबाट मन बहादुर बुढाथोकीले निर्वाचन क्षेत्रको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । प्रदेश निर्वाचन क्षेत्रिय सभापतिमा भने खड्काको टिमबाट उम्मेद्वारी घोषणा भएको छैन । त्यस्तै पालिका सभापतिमा समेत खड्काको टिमबाट उम्मेद्वारी घोषणा भएको छ । इलाम नगरपालिकामा अमृत कुमार श्रेष्ठ, सूर्योदय नगरपालिकामा सोनाम काजि लेप्चा, माई नगरपालिकामा हेमराज लिम्बु, सन्दकपुर गाउँपालिकामा तुलाराम गुरुङ्ग, माइजोगमाई गाउँपालिकामा राजेश देवान, माङसेबुङ्गमा अम्बर बहादुर राईको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । बाँकी पालिकाहरुमा सहमतिको प्रयास भइरहेकोले अहिले सभापतिको उम्मेद्वार घोषणा नभएको खड्काले जानकारी दिए । सहमति नभए आफ्नो टिमबाट उम्मेद्वारी दिने उनको भनाई छ । जिल्ला समितिको अन्य पदाधिकारीमा मातहतको कमिटिको निर्वाचन भइसकेपनि उम्मेद्वारी घोषणा हुने बताइएको छ ।
खड्काले आफुले पहिलो चरणमानै सभापति जित्ने दावी गरे । ‘पहिलो चरणमानै ५१ प्रतिशत आउँछ’, उनले भने,‘मलाई सभापति चाहाने धेरै प्रतिनिधि आएका छन् ।’ इलामका ८१ वडा भध्ये ५२ जना वडा सभापति आफ्नो आफ्नो पक्षमा रहेको खड्काको दावी छ । इलाममा कांग्रेसको सभापतिका लागि चार जना आकांक्षी छन् । खड्कासहित वर्तमान सभापति हिमालय कर्मचार्य, पूर्व सभापति केशव थापा र भेषराज आचार्य सभापतिका आकांक्षी हुन् । बाँकी तीन जनाले भने उम्मेद्वारीको औपचारिक घोषणा गरेका छैनन् ।