इलामका केही विद्यालयले अनलाइनसँगै भाैतिक उपस्थितमा पढाउन थाले

  आवाज संवाददाता

इलाम । इलामका केही सामुदायिक विद्यालयहरुले अभिभावक र स्थानीय जनप्रतिनिधिहरुको सहमतिमा भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका छन् ।

विद्यालयहरुले आलोपालो कक्षा सञ्चालन गर्नका साथै स्वास्थ्यको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा शुरु गरेका हुन् ।
इलाम नगरपालिका वडा नं. ५ को अमर माध्यमिक विद्यालयले निषेधाज्ञामा पनि कक्षा–९ साधारण, अंग्रेजी माध्यम र कम्प्युटर इन्जिनियरिङ्गको अनलाइन कक्षा सञ्चालन गर्दै आएकामा यो हप्तादेखि कक्षा १देखि ८ सम्मका कक्षाहरु भने भौतिक उपस्थितिमा सञ्चालन गर्न थालेको हो । कक्षाहरु आलोपालो गरे लगाउने तथा भौतिक दूरीसमेत कायम गराएर विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा पठनपाठन थालिएको विद्यालयले जनाएको छ । कक्षा १–८ लाई अनलाइन कक्षा सञ्चालन गर्ने प्रयास गरिएपनि सबै अभिभावकमा प्रविधिको पहुँच नभएकाले स्वास्थ्यको मापदण्ड अपनाएर भौतिक रुपमा कक्षा शुरु गरिएको विद्यालयले जनाएको छ ।

यसरीनै इलाम नगरपालिका वडा नं. ४ को सिद्धेश्वरी आधारभूत विद्यालयले पनि भौतिक रुपमै पठन पाठन शुरु गरेको छ । अभिभावक र वडाध्यक्षको सल्लाह बमोजिम विद्यालयले स्वास्थ्य मापदण्ड अपनाएर आलोपालो गरेर पठनपाठन शुरु गरिएको विद्यालयका प्रधानाध्यापक धनपति दुलालले बताए ।

यसरीनै इलाम नगरपालिका वडा नं. २ को सुम्बेक माध्यमिक विद्यालयले पनि भौतिक रुपमै पठनपाठन शुरु गरेको छ । कक्षाहरुलाई आलो पालो बोलाएर पढाउने र गृह कार्य दिने काम भइरहेको शिक्षक शेखर निरौलाले बताए ।

इलाम नगरपालिका वडा नं. १० गादकको नन्द माध्यमिक विद्यालयले पनि बाल कक्षादेखि कक्षा १० सम्मनै आलोपालो गर्दै भौतिक पस्थितिमा कक्षा सञ्चालन गरिरहेको छ । विद्यालये आइतबार बुधबार कक्षा १,२, ६ र ७, सोमबार र विहीबार कक्षा ३,४,८ र ९ तथा मंगलबार र शुक्रबार कक्षा ५ र १० लाई पठनपान गर्दै आएका विद्यालयले जनाएको छ ।

काेराेना भाइरसकाे संक्रमण कायमै रहेकाले विद्यालय भौतिक उपस्थितिमा लगाउने संघ तथा स्थानीय सरकारको निर्णय नभए जिल्लाका अन्य पालिका विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन शुरु भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार