इलाम । नेकपा एमालेको विभाजनको असर इलामको क्षेत्र नं. २ मा खासै परेन । नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रमा सामान्य छिटा मात्र परेको छ । उनको निर्वाचन क्षेत्रमा तीन जना जनप्रतिनिधि त्यसमा पनि एक जना जिल्ला समन्वय समितिका सदस्य र दुई वडा सदस्यहरुले मात्रै माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी (एस) पार्टी रोजेका छन् । बरु हिजो झलनाथ खनालको गुटमा रहेका पार्टीका जिल्ला तथा प्रदेश कमिटीमा रहेका नेतृत्वले उनको साथ छोडेपछि इलामको क्षेत्र नं. २ मा एमाले अझ बलियो भएको एमाले नेताहरुको दाबी छ ।
जिल्ला समन्वय समितिका सदस्य पूर्ण बहादुर बस्नेत नेकपा एसको पक्षमा खुलेका छन् । उनी माङसेबुङ्ग गाउँपालिका वडा नम्बर २ मा वडा सदस्यमा निर्वाचित भएका थिए भने पछि जिसस सदस्यमा निर्वाचित भएका हुन् । त्यस्तै इलाम नगरपालिकामा–१ का वडा सदस्य टेकबहादुर कटुवालले नेकपा एस रोजेका हुन् । त्यस्तै देउमाई नगरपालिका–९ का वडा सदस्य हेमराज लिम्बुले पनि नेकपा एस रोजेका छन् । दुई वडासदस्य र एक जिसस सदस्यले एमाले छोड्दा यस बीचमा नेपाली कांग्रेसबाट विजयी भएका माङसेबुङका वडाध्यक्षनै एमालेमा प्रवेश गरेको र अन्य पार्टीबाट पनि एमाले प्रवेश गरेकाले इलामको क्षेत्र नं. २ मा पार्टी विभाजनको असर नदेखिएको बताइएको छ ।
यता खनालको निर्वाचन क्षेत्र रहेको इलाम निर्वाचन क्षेत्र नं. १ मा भने ५५ जना जनप्रतिनिधिले नेकपा एस राजेका छन् । जनप्रतिनिधिहरुले नेकपा एस राजेपनि सो निर्वाचन क्षेत्रका पनि अधिक पार्टीका नेता कार्यकर्ताहरु एमालेमै रहेको बताइएको छ ।