इलाम । नेपाली कांग्रेसको इलाम नगरसभापतिमा पाँच पक्षीय भिडन्त हुने भएको छ । २७ गतेका लागि निर्धारित अधिवेशन नजिकिदै गर्दा नगर सभापतिमा हालसम्म पाँच जनाले उम्मेद्वारी घोषणा गरेका छन् । नगर सभापतिमा अमृललाल श्रेष्ठ, तीर्थराज गुरुङ्ग, लीला थापा, निर्मल राउत र पत्रकार सोम सुसेलीले नगरसभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
इलामको जिल्ला सभापतिमा चार जना आकाक्षी छन् । ती मध्ये डम्बर खड्काले औपचारिक रुपमा जिल्ला सभापतिको उम्मेद्वारी घोषणा गरिसकेका छन् । हिमालय कर्मचार्य, केशव थापा र भेषराज आचार्य जिल्ला सभापतिका आकाक्षी हुन् ।
जिल्ला सभापतिका चारवटा टिम अनुसारनै नगरमा पनि टिम बनेको छ । इलाम नगर सभापतिका आकाक्षी मध्ये अमृतलाल श्रेष्ठ जिल्ला सभापतिका उम्मेद्वार डम्बर खड्का निकट मानिन्छन् । त्यस्तै जिल्ला सभापति दोहो¥याउन चाहेका हिमाल कर्मचार्यको लाइनबाट तीर्थराज गुरुङ्ग, कांग्रेसका निवर्तमान जिल्ला सभापति समेत रहेका केशव थापाको टिमबाट लीला थापा र महासमिति सदस्य भेषराज आचार्य टिमबाट निर्मल राउतले उम्मेद्वारी घोषणा गरेका हुन् ।
नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिको निवर्तमान उपाध्यक्ष सोम सुसेली भने लाइनविहीन (स्वतन्त्र) उम्मेद्वार मानिन्छन् । दुई उपसभापति हुने नगरमा अहिलेसम्म उद्योग वाणिज्य संघ इलामकी पूर्व अध्यक्ष सुशीला सापकोटाको उम्मेद्वारी मात्रै सार्वजनिक भएको छ ।
यस्तै सचिवमा पनि हालसम्म चार जनाले उम्मेद्वारी घोषणा गरेका छन् । सचिवमा भरत चौहान, बिरेन्द्र कार्की, निराजन भट्टराई र कृष्ण बस्नेतले सचिवमा उम्मेद्वारी सार्वजनिक गरेका छन् । जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा निकट मानिन्छन भने, हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् ।
कांग्रेसको विधान अनुसार नगरमा एक नगरसभापति, दुई उपसभापति, दुई सचिव हुने छन् भने कोषाध्यक्ष मनोनित हुनेछन् ।