इलाम । लुथरन वर्ल्ड रिलिफले जिल्ला अस्पताल इलामलाई ६२ लाख ५३ हजार १८८ रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
आइतबार एक कार्यक्रमका बीच लुथरनका देशीय प्रतिनिधि किरण ओझाले उक्त उपकरण अस्पताल विकास समितिका अध्यक्ष गणेश बराल र इलाम जिल्ला अस्पतालका प्रमुख डा. प्रभु शाहलाई हस्तान्तरण गरे । लुथरनले दुई थान भेन्टिलेटर, डिपिब्रिलेटर एक थान, ब्लड ग्याँस एनालाइजर दुई थान उपलब्ध गराएको छ ।
त्यस्तै, आईसीयू पेसेन्ट मोनिटर एक थान, थ्री च्यानल ईसीजी मेसिन पाँच थान, इन्फ्युजन पम्प एक थान, सक्सन मेसिन दुई थान इलाम अस्पताललाई प्रदान गरिएको हो । लुथरनले उपलब्ध गराएको सामग्रीको मूल्य ६२ लाख ५३ हजार १८८ रुपैयाँ पर्ने भए पनि नेपाल सरकारले ती सामग्री आयात गर्दा पाँच लाख ११ हजार ६८४ रुपैयाँ भन्सार छुट दिएको छ ।
लुर्थनले ५७ लाख ४१ हजार ५०४ रुपैयाँको लागतमा ती स्वास्थ्य सामग्री खरिद गरेको बताइएको छ । लुथरनले उपलब्ध गराएका उपकरणले अस्पतालमा सेवा लिन आउनेहरूले गुणस्तरीय सेवा पाउने अस्पतालले बताएको छ ।