नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै सो पार्टीको दलको बैठक बसी संसदीय दलको नेतामा राईलाई चयन गरिएको हो ।
संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत प्राप्त गर्न नसके उनी मुख्यमन्त्रीमा रहिरहन पाउने छैनन् ।
प्रदेशसभामा हाल कायम रहेका ९२ सदस्यमध्ये सभामुखसहित नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।