इलाम । जिल्लामा सुरक्षित आवासगृह नहुँदा हिंसा तथा जोखिममा परेका बालबालिकालाई आपत्कालिन अवस्थामा राख्न समस्या भएको हुने गरेको छ ।
जिल्लामा बालबालिकाको सहयोगका लागि ‘बाल हेल्पलाइन १०९८’ सञ्चालनमा आएपनि सरकारले बालबालिकाका लागि सुरक्षित आवासगृहको व्यवस्था नगर्दा उद्दार गरेका बालबालिकालाई कहाँ राख्ने भन्ने समस्या परेको ‘बाल हेल्पलाइन’ संयोजक भक्त थामीले बताए । ‘१६ दिन देखि आठ महिना सम्मका बच्चाहरुको उद्दार गर्नुपर्ने अवस्था अहिले पनि छ । उनीहरुलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो समस्या छ ।’ संयोजक थामीले भने ‘हामीले १८ महिना माथिका नानीहरु उनीहरुका आमा सँगै उद्दार गरेका छौं । पछि अन्यत्र व्यवस्थापन गरेपनि तत्कालका लागि जिल्लामै राख्नु पर्ने हुन्छ । त्यस्तो अवस्थामा चाँहि समस्या भएको छ ।’
थामीका अनुसार विभिन्न हिंसाबाट पीडित बालबालिका र महिलाहरुको न्यायका लागि कानूनी प्रक्रिया अघि बढाउनु पर्ने हुँदा कोही समय छ महिना सम्म पनि जिल्लामै राख्नु पर्ने अवस्था आएको छ ।
‘कतिपय घटनाका पीडितहरुलाई जिल्ला सम्म ल्याएर अदालतमा मुद्दा दर्ता गरिन्छ, मुद्दा चल्दै जाँदा पछि उनीहरुलाई अदालतमा उपस्थित हुनै नसक्ने अवस्था पनि आउने गरेको छ ।’ नेपाल बार एशोसिएसन उच्च बार इकाइ इलामका अध्यक्ष बीरबहादुर खड्काले भने ‘यस्तो अवस्था आउन नदिन जिल्लामै दीर्घकालिन अवासगृह निर्माणको खाँचो छ ।’
घरमै राख्न नहुने किसिमका मुद्दा आउँदा उद्दार गरिएका पीडितलाई प्रहरीले पनि राख्ने आफ्नो कुनै कक्ष छैन, गैरसरकारी संस्था सँगै समन्वय गरेर बालबालिकालाई राख्ने गरेको छ । जिल्लास्थित मानव अधिकार मञ्च नेपाल इलामले केही वर्ष यता सञ्चालन गर्दै आएको सुरक्षित आवासगृहमा पीडितहरुलाई राख्ने गरिएको छ । हिंसा पीडितहरुका लागि अस्थायी रुपमा सुरक्षित आवासको व्यवस्था गर्दै आएको मानव अधिकार मञ्च नेपालले अहिले सम्म पीडितहरुलाई अस्थायी ढंगले भएपनि बस्ने व्यवस्था गर्दै आएको मञ्चका महासचिव देवेन्द्र विश्वकर्माले बताए । ‘कहिलेकाँही यहाँ पनि अत्यन्तै समस्या हुने गरेको छ । अहिले पनि एक जना बालक छन् । उनको ठेगाना र आफन्त पत्ता लगाउन नसक्दा समस्या आएको छ ।’ विश्वकर्माले भने ‘प्रहरीले ७७ जिल्लामा खोजी गर्दा पनि बालकको आफन्त भेटिएको छैन । मधुमेहबाट पीडित रहेका बालक अहिले कोभिड संक्रमित पनि भएका छन् । अस्पतालमै राखेर उपचार भइरहेको छ । अब उनलाई कहाँ पठाउने समस्या भएको छ ।’ उनका अनुसार यहाँ आएका केही हिंसा पीडितलाई दीर्घकालिन पुर्नःस्थापना गृह विराटनगर र माइती नेपाल काठमाडौं समेत पठाइएको छ ।
महिला तथा बालबालिका कार्यालय स्थानीय तहमा गएपछि उत्पन्न समस्याको समाधान गर्न नगरपालिकाले पहल थालेको इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए । ‘उपयुक्त जग्गाको खोजी गरिरहेका छौं’ बस्नेतले भने ‘सेफ हाउस बनाउन सबै सँग सहकार्य अगाडि बढाउँछौं ।’