चुलाचुलीमा धान भण्डारण गृह निर्माण हुँदै

  आवाज स‌वाददाता


इलाम। यहाँस्थित चुलाचुली गाउँपालिकामा धान भण्डारण गृह निर्माण भइरहेको छ । किसानलाई धान भण्डारण गर्न सहज बनाउनका लागि कृषि ज्ञान केन्द्रको अगुवाइमा भण्डारण गृह निर्माण थालिएको हो । गत पुसको पहिलो साताबाट निर्माण शुरु भएको भण्डारण गृह यही माघसम्ममा सकिने छ । सञ्चालक समिति चुलाचुली र ज्ञान केन्द्रको ५०।५० प्रतिशत खर्चमा बन्ने भवनको कूल लागत रु १२ लाख ३८ हजार हो । चुलाचुली इलामकै बढी धान उत्पादन हुने क्षेत्र हो । किसानलाई सर्वसुलभ मूल्यमा धान बेच्नका लागि भण्डारण गृह आवश्यक परेको हो ।

“धान भए धान नै, नभए चामल बनाएरै बेच्ने व्यवस्था पनि गरिने छ”, कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भने, “खलामै गएर किन्ने व्यवस्था पनि छ । यसले गर्दा किसानलाई बढी नाफा हुन्छ ।”

यहाँका किसानले झापा र मोरङमा धान बेच्छन् । ठूलो परिमाणमा एकैपटक बेच्दा बढी मूल्य पर्नाले भण्डारण गृह आवश्यक परेको उपभोक्ता समिति चुलाचुलीका संयोजक त्रिलोचन गौतमले बताए । सहकारीमार्फत यहाँका किसानले धान बिक्री गर्छन् । भण्डारण गृह निर्माणपछि धान केलाउन र गे्रडिङ गर्न सहज हुने गौतमले जानकारी दिए । भण्डारण गृह एकतले र तीनकोठे हुनेछ । झापा र मोरङका विभिन्न स्थान लगेर यहाँका किसानले धान बेच्ने गरेका छन् । धानमात्र होइन भण्डारण गृहमार्फत धान पेलेर चामल बेच्ने प्रबन्ध पनि मिलाउँदै गरेको संयोजक गौतमको भनाइ छ ।

इलामकै अन्न खानी भनेर चिनिने यो क्षेत्र झापा जिल्लाको सीमावर्ती जिल्ला हो । तराईको फाँट भएकाले पनि यहाँका ९५ प्रतिशत किसानले धानखेती गर्छन् । इलामको तल्लो भेग भएकाले जिल्लास्थित ज्ञान केन्द्रमार्फत पाउने सुविधा नपाउने गरेको यहाँका किसानको गुनासो छ तर पछिल्लो समय केन्द्रकै अगुवाइमा यस्ता काम हुन थालेपछि किसान केही सकारात्मक देखिन थालेका छन् । गएको वर्ष पनि ज्ञान केन्द्रले यहाँका किसानलाई धान बोक्ने ट्र्याक्टर वितरण गरेको थियो ।“धान भए धान नै, नभए चामल बनाएरै बेच्ने व्यवस्था पनि गरिने छ”, कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भने, “खलामै गएर किन्ने व्यवस्था पनि छ । यसले गर्दा किसानलाई बढी नाफा हुन्छ ।”

मल र सिँचाइको व्यवस्था नहुँदा सकस

सिँचाइ र मलको सुविधा नपाउँदा यहाँका किसानले अपेक्षाकृत धान उत्पादन गर्न सकेका छैनन् । विशेषगरी गाउँपालिकाको माथिल्लो क्षेत्रका किसानको सिँचाइमा पहुँच पुगेको छैन । खोलाको पानी कुलोबाट ल्याउन सम्भव छैन । डिपबोरिङमार्फत पानी ल्याउनुपर्ने हुन्छ तर ठूलो खर्च लाग्ने भएकाले किसानले सिँचाइका लागि पानी ल्याउन सकेका छैनन् ।

सिँचाइको सुविधा मात्र पूरा भए धान उत्पादनमा उल्लेखनीय सुधान आउने समितिका संयोजक गौतमको भनाइ छ । यस्तै अन्य क्षेत्रमा जस्तै यहाँका किसान पनि धानमा प्रयोग गरिने रासायनिक मल प्रयोग गर्नबाट वञ्चित छन् । मल लगाउने समयमा नपाइँदा उत्पादन ह्रास आउने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार