धानको उत्पादनसँगै आयात पनि बढ्दै

  आवाज स‌‌म्वाददाता

स्थानीय उत्पादनले माग धान्न नसकेपछि गत आर्थिक वर्ष २०७७/२०७८ मा १० करोड १० लाख ४० हजार रुपैयाँ मूल्य बराबरको ४ हजार २ सय १९ मेट्रिक टन धान आयात गरिएको छ । नेपालको पूर्वी काँकरभिट्टाबाट मात्रै यति परिमाणको धान आयात भएको हो । धानको उत्पादनले कूल राष्ट्रिय उत्पादनमा करिब ६ प्रतिशत योगदान गर्ने भएकाले नेपालको अर्थतन्त्र धान उत्पादनमा आधारित छ भन्ने गरिन्छ । तर, यो नाकाबाट हरेक वर्ष धानको आयातमा बृद्घि भइरहेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

     नेपालको कूल खेतीयोग्य जमिनमध्ये ५० प्रतिशत जमिनमा धान खेती गर्ने गरिन्छ । नेपाल पहाडी देश भएको हुँदा नेपालको अधिकांश जमिन आकाशे सिँचाइमा निर्भर रहिआएको छ । सिँचाइको भरपर्दो व्यवस्था र पर्याप्त वर्षा नहुँदा हरेक वर्ष खेती हुने जिल्लामा अधिकांश स्थानको धान रोपाइँ प्रभावित हुँदै आएको छ ।

      क्वारेन्टिन कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा काँकरभिट्ट नाका भएर १५ करोड ३१ लाख ९२ हजार रुपैयाँ मूल्य बराबरको ५ हजार ८ सय ९२ मेट्रिक टन धान आयात भएको थियो । जुन परिमाण अघिल्लो वर्षको तुलनामा ५ करोड २१ लाख ५२ हजार रुपैयाँ मूल्य बराबरको १ हजार ६ सय ७३ मेट्रिक टनले बृद्घि हो ।

    यसैगरी, आर्थिक वर्ष २०७५/२०७६ मा काँकरभिट्टा नाका भएर ७ करोड ६८ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको २ हजार ९ सय ५७ मेट्रिक टन धानको आयात भएको कार्यालय प्रमुख देविन्द्र साहूले जानकारी दिए । आर्थिक वर्ष २०७६/२०७७ को तुलनामा आर्थिक वर्ष २०७५/२०७६ मा ७ करोड ६३ लाख १० हजार रुपैयाँ मूल्य बराबरको २ हजार ९ सय ३५ मेट्रिक टनले धानको आयात कमी हो । धान उत्पादनमा उल्लेख्य सफलता हासिल गर्न नसक्दा बर्सेनि चामल आयातको दर बढिरहेको सरकारी अधिकारीहरुको भनाइ छ ।

        मुलुकमा बर्सेनि चामलको खपत बढिरहे पनि सोही मात्रामा धानको उत्पादन हुन नसक्दा आयात बढेको कृषि प्राविधिक रामप्रसाद कुश्वाहको भनाइ छ । तर, कृषि ज्ञान केन्द्र झापाले झापामा हरेक वर्ष धानको उत्पादन बृद्घि भइरहेको दाबी गरिहेको छ । कार्यालय प्रमुख नीलकमल सिहंका अनुसार गत आर्थिक वर्ष २०७७/२०७८ मा झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसबाट प्रतिहेक्टर ४ दशमलव ९ मेट्रिक टन धान उत्पादन भएको थियो । झापामा खेती योग्य धान उत्पादनका लागि ८७ हजार ५ सय हेक्टर क्षेत्रफल भए पनि आर्थिक वर्ष आर्थिक वर्ष २०७६/२०७७ मा ९१ प्रतिशत जमिनमा मात्र धान खेती गरिएको कार्यालय प्रमुख सिहंको भनाइ छ । त्यसवर्ष प्रतिहेक्टर ४ दशमलव ७ प्रतिशत मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार