आगलागीमा परेका खनाल परिवारलाई आर्थिक अभाव, सहयाेग जुटाइँदै

  आवाज स‌‌म्वाददाता

आगलागीमा परेर गम्भीर घाइते राेम खनालकाे उपचार रहँदाकाे अवस्था

सिलिण्डर  ग्यास लिक भएर आगलागीमा परी घाइते भएका झापा अर्जुनधाराका अग्निपीडितहरुको उपचारमा आर्थिक अभाव खड्किएकाे  छ । भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा आगजनी भएको थियो । आगलागीमा परी जलेर चार जना घाइते भएका थिए । रोम खनालको घरमा भएको सो आगलागीमा परी घरधनी खनाल, उनी श्रीमती दुर्गा खनाल, छोरा पंकज खनाल र आमा मंगलादेवी खनाल घाइते भएका थिए । मंगलादेवी सामान्य घाइते भएकी थिइन् भने बाँकी तीन जना गंभीर घाइते भएका थिए ।

    आगलागीमा परी रोमको शरीरको ५० प्रतिशत, दुर्गाको ३० प्रतिशत र पंकजको १५ प्रतिशत भाग जलेको छ । तीनै जनाको अहिले काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये गम्भीर घाइते भएका रोम र दुर्गाको आइसीयू कक्षमा उपचार भइरहेको छ । पंकजको जेनेरल वार्डमा उपचार भइरहेको छ । रोमको उपचारमा करिब १० लाख, दुर्गाको उपचारमा करिब ८ लाख र पंकजको उपचारमा करिब ४ लाख रुपैयाँ खर्च हुनसक्ने अस्पतालको पूर्वानुमान छ ।

उपचारमा रहँदा दुर्गाकाे अवस्था

     आगलागीबाट खनालको घर ध्वस्त भएको छ । सामान्य अबस्थाका खनाल परिवारको आर्थिक अबस्थाले नधान्ने भएपछि सहयोगका लागि आह्वान गरिएको छ । त्यसका लागि एक सहयोग समिति गठन गरिएको आफन्त टंकप्रसाद खनालले बताए । उनले आफ्नो परिवारमा परेको समस्यालाई हल गर्न छरछिमेकी, साथीभाइ, आफन्तसहित धेरै सहयोगी मन जुटेकोमा हार्दिक आभार व्यक्त गर्दै विपत्तिमा सहयोगको लागि अपिल गरेका छन् । यसैबीच समाजसेवी तथा अभियन्ता उज्वलविक्रम थापाले औषधि उपचारका लागि ५० हजार रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गरेका छन् ।

  आगलागीका कारण खनाल परिवारकाे घर समेत पूर्ण रुपमा जलेकाे छ । घर बनाउन भन्दा पनि शुरुमा घाइतेलाइ उपचारका लागि खर्च आवश्यक परेकाे दुर्गाका कान्छा भाइ खडानन्द ढकालले जानकारी दिए । ढकालका अनुसार विरामीकाे अवस्था नाजुक भएकाले खर्च बारेमा एकिन भइसकेकाे छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार