जिसस इलामको समिक्षा बैठक शुरु

  आवाज स‌‌म्वाददाता

जिल्ला समन्वय समिति इलामको समिक्षा बैठक शुरु भएको छ । दुईदिन सम्म चल्ने बैठकको पहिलो दिन बुधबार जिल्लाका दशैवटा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र विषयगत कार्यालयहरुले वर्षभरि सम्पादन गरेका कामहरुको प्रस्तुति रहने जिल्ला समन्वय समितिले जनाएको छ ।
यस्तै विहीबार स्थानीय गैरसरकारी संस्थाहरुको कार्य सम्पादनको प्रस्तुति रहने जनाइएको छ । प्रदेश १ का सांसद तथा निवर्तमान भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री राम रानाको प्रमुख आतिथ्यतामा शुरु भएको बैठकको उत्दघाटन गर्दै रानाले विगतमा गरेका कामको समिक्षा गर्नु र आगामी सफल कार्य योजना निर्माणका लागि जुट्न यो समिक्षा बैठक निकै महत्वपूर्ण भएको बताए ।
‘यो वर्ष जनप्रतिनिधिहरुको कार्यकालको अन्तिम वर्ष पनि हो, यो अवधिमा जनप्रतिनिधिहरु आएपछि कति काम भए, कति उपलब्धी भयो भन्ने समिक्षा हुन जरुरी थियो ।’ रानाले भने ‘जिससले गर्ने समिक्षा बैठकले हरेक पालिका र कार्यालयले गरेका कामको समिक्षा र मुल्याकंन गर्ने थलोको रुपमा विकास गरिदिएको छ, यो महत्वपूर्ण छ । ’ रानाले पहिलो पटक संघीय व्यवस्था अनुसार जनप्रतिनिधि आएर स्थानीय तहलाई भविष्य सम्म गतिदिन थुप्रै आधारशिला तयार गरेको पनि बताए । ‘आम नागरिकको आर्थिक स्थिति सुधार्न के कति काम भए त्यो त छलफल गर्न र आर्थिक उपार्जन तथा रोजगारमूलक काम गर्न बाँकी होला तर, कानून, नियम निर्माणका सवालमा सबैजसो स्थानीय तहले आफू अनूकुल ऐन, कानून निर्माण गर्न पाएका छन् ।’ रानाले भने ‘तीनै कानून नियमलाई टेकेर भविष्यको आधार निर्माण गर्ने बाटो तय भएको छ ।’
कार्यक्रममा शुभकामना दिंदै नगरपालिका संघ प्रदेश– १ का अध्यक्ष महेश बस्नेतले इतिहासमा गरिएका कामको समिक्षा गर्नु र भोलिका दिनमा गरिने कामको आधार तयार गर्न यो समिक्षा बैठक महत्वपूर्ण रहेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जिल्लाको विपद् कार्ययोजना, जिल्लाको शान्ति सुरक्षा, सीमा सुरक्षा तथा सुरक्षाको अवस्थाका विषयमा जानकारी गराएका थिए ।
जिल्ला समन्वय समिति प्रमुख गणेशपसाद बरालको अध्यक्षतामा शुरु भएको बैठकमा यो समाचार तयार गर्दा सम्म अन्य स्थानीय तहहरुको कार्यसम्पादनको प्रस्तुति जारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार