पालिका प्रमुखकै अरुची,सामान्य औपचारिकतामा सीमित समिक्षा बैठक

 

इलाम । ‘अन्तिम वर्ष भएर हो कि के हो जनप्रतिनिधिहरुलाई अल्छि लागेको जस्तो छ’ प्रदेश सभा सदस्य राम रानाको टिप्पणी हो यो । जिल्ला समन्वय समितिले आयोजना गरेको समिक्षा बैठकमा जिल्लाका अधिकांश पालिका प्रमुख अनुपस्थित भएपछि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले यस्तो टिप्पणी गरेका हुन् ।

समिक्षा बैठकमा अधिकाशं पालिकाका प्रमुख उपस्थित भएनन् । बुधबारको बैठकमा स्थानीय तहले गत आर्थिक वर्ष २०७७÷०७८ मा गरेका कामको समिक्षा गर्ने कार्यक्रम थियो । पहिले गरेको कामको समिक्षा गरेर भावि योजना बनाउन जिससले बर्षेनी समिक्षा बैठक राख्ने गरेको छ । तर, पालिका प्रमुखहरुले त्यसलाई खासै महत्व दिएनन् । बैठकमा पालिका प्रमुख मध्ये इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई मात्रै थिए । देउमाई नगरपालिकाकी उपप्रमुख, रोङ र फाकफोकथुम गाउँपालिकाका उपाध्यक्षहरु बैठकमा सहभागी थिए ।

सूर्योदय नगरपालिका, माई नगरपालिका, सन्दकपुर गाउँपालिका र माइजोगमाई गाउँपालिकाका जनप्रतिनिधि बैठकमै उपस्थित भएनन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचन भएको चार वर्ष पुरा भएको छ । जनप्रतिनिधिहरुले आउँदो असार १० गतेसम्म मात्रै काम गर्न पाउने छन् । पाँच वर्षे कार्यकाल पुरा हुँनै लाग्दा जनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा भएको कामको समिक्षा गर्नुपर्ने हो । तर, उनीहरु आफुले गरेको कामको समिक्षा गर्न खासै इच्छुुक देखिदैनन् ।

‘आफ्नो कार्यकालमा के के काम भयो, के के काम पुरा हुन सकेन के के काममा ध्यानै पुगेन भनेर समिक्षा गर्न जरुर हुन्छ’, प्रदेशसभा सदस्य राम रानाले भने, ‘विगतको समिक्षा नगरी कसरी भविश्यको योजना बनाउने ?’ एक नम्बर सरकारको भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री समेत भइसकेका राना सरकारको रुपमा कति सफल भइयो भनेर जनप्रतिनिधिले समिक्षा गर्नुपर्ने बताउँछन् । ‘सरकारको रुपमा कत्तिको व्यवस्थित भइयो, कानुन नियम कति बनायौ, स्थानीय तहमा संसदीय अभ्यासलाई कति प्रभावकारी र व्यवस्थित बनाउन सकियो यसको समिक्षा गर्न आवश्यक छ’, उनले भने,‘ जनप्रतिनिधि भएपछि अविभावकत्व प्राप्त भएको छ, आगामी दिनमा पालिकाहरुलाई कसरी अघि बढाउने भनेर समिक्षा गर्नुपर्छ ।’ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत पनि समिक्षा आवश्यक हुने बताउँछन् ।

उनले जिल्ला समन्वय समितिलाई कम आक्न नहुने बताउँछन् । ‘जिल्ला समन्वय समिति संवैधानिक अंग हो, यसलाई कम आक्न हुँदैन’ नेपाल नगरपालिका संघको एक नम्बर प्रदेशका अध्यक्ष समेत रहेका बस्नेतले भने,‘विगतको कामको समिक्षा नगरी भविश्यको लागि योजना बनाउँन सकिदैन, भोलीको मार्गदर्शनको लागि समिक्षा हुनुपर्छ ।’ यस अघि यस्तो समिक्षा बैठकमा उपस्थित हुँन र त्यहाँ उठेको प्रश्नको जवाफ दिन अन्य सरकारी कार्यालयका प्रमुखहरुले अरुची प्रकट गर्ने गरेका थिए । धेरैजसो कार्यालयका प्रमुखले आफु भन्दा तल्लो स्तरको कर्मचारी बैठकमा पठाउने गरेका थिए ।

मिक्षा बैठकमा कार्यालय प्रमुख अनुपस्थित हुँदा पालिका प्रमुखहरुलेनै प्रश्न उठाउने गरेका थिए । यो पटक भने पालिका प्रमुखहरुले नै समिक्षा बैठकमा उपस्थित हुँन र त्यहाँ उठेका प्रश्नको जवाफ दिन रुची देखाएनन् । जिससको आयोजना भएको बुधबारको बैठकमा १० वटै पालिकाले गत आर्थिक वर्षमा भएका कामको बारेमा प्रस्तुती राखेका छन् । बुधबार कृषि अनुसन्धान केन्द्र, अलैची विकास केन्द्र र वागवानी विकास केन्द्रले समेत गत आवमा भएको कामको बारेमा जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार