इलाम । कोभिड संक्रमणको दोस्रो चरणको चलिरहेका बेला संक्रमित बालबालिकालाई उपचार गराउन समस्या भएपछि इलाममा बालमैत्री आसोलेसन कक्ष स्थापना गरिएको छ ।
इलाम अस्पतालको कोभिड अस्पताल केन्द्रमा चार वेडको बालमैत्री आइसोलेसन र अस्पतालमै उपचार गर्न दुई वेड गरि छ वेड बालबालिकाका लागि स्थापना गरिएको हो । बुधबारबाट बालमैत्री आइसोलेसन केन्द्र शुरु गरिएको छ ।
यसअघि नेपाल सरकारले सबै अस्पतालहरुलाई सञ्चालित वेडको २० प्रतिशत वेड बालबालिकाका लागि छुट्याउन पत्राचार गरेको थियो । तर जिल्ला भर कुनै पनि अस्प्तालले २० प्रतिशत वेड बालबालिकाका लागि छुट्याएका थिएनन् ।
मानव अधिकार मञ्च नेपाल इलामको समन्वय तथा इलाम अस्पताल, इलाम नगरपालिका, जिल्ला प्रशासन कार्यालय र अस्पताल विकास समितिको सहकार्यमा आइसोलेसन सेन्टर स्थापना गरिएको जनाइएको छ । आइसोलेसन सेन्टरका लागि मानव अधिकार मञ्चमा सञ्चालित बाल हेल्पलाइन नम्बर १०९८ बाट ८० हजार ५ सय रुपैयाँ बराबरको खेल सामग्री, मनोरञ्जन सामग्री र स्वास्थ्य साम्रगी प्रदान गरिएको हेल्पलाइन नम्बर १०९८ का संयोजक भक्त थामीले जानकारी दिए ।
आइसोलेसन सेन्टर उद्घाटन गर्दै अस्पताल विकास समिति अध्यक्ष गणेशप्रसाद बरालले नेपाल सरकारले तोके अनुसार बालबालिकाका लागि उपचार गर्न कुनै कन्जुस्याईं नगरि २० प्रतिशत वेड बालमैत्री बनाइएको बताए । आइसोलेसन सेन्टरका लागि इलाम नगरपालिकाले आवश्यक आधारभूत आवश्यकता र त्यहाँ रहने बालबालिकालाई पोषिलो खाना उपलब्ध गराउने इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले पनि कोभिड संक्रमणको जटिल परिस्थितमा बालबालिकाको संरक्षण र उपचारका लागि सबै सचेत हुनपर्ने बताए ।
यसअघि कोभिड अस्पतालमा पु¥याइएका कोभिड संक्रमित बालबालिकाहरुलाई छुट्टै उपचार कक्ष र आइसोलेसन कक्ष नहुँदा समस्या झेल्नु परिरहेको थियो । बाल हेल्पलाइन नम्बर १०९८ का संयोजक थामीले इलामका सबै पालिका सहित पाँचथर, ताप्लेजुङ र तेह्थुममा समेत बालमैत्री आइसोलेसन सेन्टरको स्थापनाका लागि समन्वय जारी राखिएको बताए ।