सुरक्षामा सक्रियता बढाउँदै प्रहरी–प्रशासन

नागरिकको सुरक्षाका लागि इलाम स्थित प्रहरी प्रशासनले सक्रियता बढाउन थालेको छ । पछिल्लो पटक हरेक क्षेत्रमा खटिएका प्रहरीलाई आफ्नो कार्यक्षेत्र भित्र रहेका गाउँमा पुगेर त्यहाँका नागरिक सँग भेट गर्नुपर्ने कार्यक्रम शुरु गरिएको छ । जिल्ला भर खटिएका नेपाल प्रहरीलाई गाउँमा गएर नागरिक सँग भेट गर्न र उनीहरुको फोन नम्बर ल्याउन भनिएको स्रोतको भनाइ छ ।

    ‘उस्को कार्यक्षेत्रमा खटाइएको प्रहरीले गाउँ सम्म पुग्यो पुगेन भनेर क्रस चेकका लागि स्थानीय बासीको फोन नम्बर ल्याएर जिल्लामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ । यसबाट छड्केका परिन्छ भन्नेमा प्रहरी कर्मचारीहरु पनि सचेत भएका छन् ।’ इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने ‘गाउँ ÷गाउँमा नागरिकलाई सुरक्षित महशुस गराउन र सुरक्षा सम्बन्धी सचेतना गराउन प्रहरीले ग्रामीण गस्ती अभियाननै चलाएको छ ।’ गतवर्ष ४५१ वटा ग्रामीण गस्ती गरेको प्रहरीले यो वर्ष साउन र भदौ गरि दुई महिनामै एक हजार ६३५ वटा ग्रामीण गस्ती गरिसकेको छ । यस्तै ३८ स्थानमा सचेतनाको कार्यक्रम पनि गरेको छ । पछिल्लो समय शान्ति सुरक्षामात्र नभएर कोभिडको जोखिमबाट सर्वसाधारणलाई सचेत गराउँदै नेपाली सेनालाई पनि गाउँ केन्द्रित गरिएको छ । जिल्लाका तीन क्षेत्रमा रहेका नेपाली सेनाका विभिन्न टोलीले गाउँ जाने र सर्वसाधारणलाई मास्क वितरण तथा कोभिडबाट जोगिने सचेतनाका कार्य गराइरहेको प्रजिअ खड्काले बताए ।

    सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले साउन यता सीमामा २१० पटक चेकजाँच गरेको छ भने राजमार्गका विभिन्न स्थानका ४८० पटक चेकजाँच गरेको जनाइएको छ । चोरी निकासीबाट गतवर्ष १ करोड ६ लाख ७९९ रुपैयाँ राजश्व उठाएको नेपाल प्रहरीले यो चालू आर्थिक वर्षको साउन यता ९ लाख ९७ हजार ३५० रुपैयाँ राजश्व उठाएको छ । यस्तै साउन यता २६ दशमलव ५ क्युफिट काठ समेत प्रहरीले बरामद गरेको जनाइएको छ । ट्राफिक प्रहरीले पनि आफ्नो काममा सक्रियता जनाउँदै साउन यता ६ लाख ४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ ।
यता सुरक्षाकै निम्ति जिल्लाका विभिन्न बजार क्षेत्रमा जडान गरिएका सबै सिसि क्यामेराले भने काम नगर्दा समस्या भएको प्रजिअ खड्का बताउँछन् । बजार क्षेत्रमा ११८ वटा सिसि क्यामेर जडान गरिएका छन् । यी मध्ये ५६ वटालेमात्र काम गरिरहेको छ । ६२ वटा सिसि क्यामेराले काम गरेका छैनन् । ‘यी क्यामेरा मर्मत गर्नुपर्ने अवस्था छ । मर्मत गर्न सकिएको छैन ।’ प्रजिअ खड्काले भने ‘विभिन्न संघ संस्था र दाताहरुबाट उपलब्ध भएका यी क्यामेराको ग्यारेन्टी र वारेन्टीका कार्डहरु नहुुँदा मर्मतमा समस्या भएको छ ।

    हामीले ती दाताहरुलाई सम्पर्क गरेर मर्मतको पहल गरिरहेका छौं ।’ यसअघि इलाम चोक बजारमै जडान गरिएका सिसि क्यामेराले काम नगर्दा चोक बजारमै पार्किङ गरिएका मोटर साइकलहरु समेत हराएका थिए । ‘जिल्लामा शान्ति सुरक्षा कायम राख्न र नागरिकलाई सुरक्षित महशुस गराउन अहिले हामीले नयाँ ढंगले सुरक्षा र सचेतनाका कार्यक्रम अघि सारेका छौं । विगतका वर्षहरुमा भन्दा यो वर्ष पक्कै पनि आपराधिक घटना कम हुन्छन् भन्ने हाम्रो अनुमान छ ।’ प्रजिअ खड्काले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार