जिम्मेवार व्यक्ति नै भन्छन्–‘कृषिमा अनुदान पाउने किसानलाई नै अनुदान थाहा हुँदैन’

  आवाज स‌‌म्वाददाता

इलाम । कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७÷०७८ मा गरेको कामको फेरिस्त सुनाउँदै गर्दा जिल्ला समन्वय समितिका सदस्य पूर्णबहादुर बस्नेतले कृषि प्रसार अधिकृतलाई अनौठो प्रश्न तेस्र्याए । ‘कृषिबाट अनुदान पाउनेलाई अनुदान पाएको थाहा हुन्छ कि हुँदैन ?’ बस्नेतको अनौठो प्रश्नले खड्कालाई के जवाफ दिने सोच्न बाध्य बनायो ।

       ‘अनुदान पाउने किसानलाई थाहा हुनुपर्ने हो’, खड्काले जवाफ दिए । तर, बस्नेत यत्तिमै रोकिएनन्, आफुले अनुगमनको क्रममा जसले अनुदान पायो भनिया ति किसानले पैसा त परको कुरा जानकारी समेत छैन भनेर आफुलाई भनेको सुनाए । बस्नेतले कुरा उप्काएपछि जिल्ला समन्वय समितिले आयोजना गरेको बार्षिक समिक्षा बैठकमा अनुदान दुरुपयोगको चर्चा सुुरु भयो । वास्तविक किसानले अनुदान नपाएको बैठकका सहभागीको प्रतिक्रिया पछि जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले कागजपत्र ठीक पार्नेले अनुदान पाइरहेको बताए । ‘म आफै त्यो समितिको अध्यक्ष छु, कागजी प्रक्रिया पूरा गर्नेले मात्रै अनुदान पाउँछन्’, उनले अघि भने,‘कोहि कोही बेला निर्णय गरेर आएर सोच्छु कृषिको अनुदान बालुवामा पानी खन्याएजस्तै भयो ।’ झन्झटिलो प्रक्रियाका कारण बास्तविक किसान अनुदानबाट बञ्चित भएको छवि खतिवडाले बताए ।
‘बाख्राको खोर मात्रै बनाएर बाख्रा नपालि अनुदान लिनेहरु पनि छन्’, उनले थपे ‘अनुगमन भएको दिन गाउँभरिको बाख्रा ल्याएर बाध्यो, अरुबेला खोर रित्तै हुन्छ ।’ कागजात पूरा गर्नेले मात्रै अनुदान पाउँदा वास्तविक किसान भने राज्यले दिने अनुदानबाट बिमुख भएको राम रिमालको पनि भनाइ छ । ‘साच्चै खेती किसान गर्ने व्यक्तिले कागज पुरा गर्नै सक्दैन, कागज पु¥याउने झञ्झट व्यहोर्नु भन्दा उ अनुदान लिने प्रक्रियामानै भाग लिदैन’, रिमालले भने, ‘त्यसैले वास्तविक किसानले अनुदाननै पाउँदैन ।’
अपुुरो कागजातका आधारमा अनुदान दिन कानुनी अड्चन हुनाले समस्या भएको जिसस प्रमुख बरालको भनाई । ‘डकुमेन्ट नै पूरा नगरेकोलाई अनुदान दिन कानुनले मिल्दैन, डकुमेन्ट पुरा गर्ने व्यक्ति वास्तविक किसाननै हुँदैनन,’ प्रमुख बरालले भने,‘हामीले कर्मचारी साथिहरुलाई फिल्डमा पनि पठाउँछौ, अनुदानमा पल्किएकाहरुले यही हो मेरो भनेर अर्काको देखाएर पठाउछन् ।’
कृषि ज्ञान केन्द्र इलामका अनुसार वितेको आर्थिक वर्ष २०७७÷०७८ मा एक सय नौ जनाले कार्यालयबाट अनुदान पाएका छन् । प्रदेश सरकारको कार्यक्रमबाट ६५ र संघीय सरकारको बजेटबाट ४४ जनाले अनुदान पाएका हुन् । एक नम्बर प्रदेश सरबारले इलाम जिल्लामा मात्रै एक करोड ८० लाख ९९ हजार आठ रुपैयाँ अनुदानमा खर्च गरेको छ । त्यस्तै संघीय सरकारले तीन करोड नौ लाख चार हजार तीसय ६० रुपैयाँ किसानलाई अनुदान दिएको छ । इलाम जिल्लामा कृषि ज्ञान केन्द्रले अनुदानमा चार करोड ९० लाख चार हजार एकसय ६० रुपैयाँ खर्चिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार