हामीले एमाले विभाजन गरेकाे हाेइन,विद्राेह गरेका हाै‌‌ : राजेन्द्र पाण्डे

  आवाज स‌‌म्वाददाता

  इलामको फिक्कलमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को नगर कार्यालय उद्घाटन गरिएको छ । पार्टीका केन्द्रीय नेता तथा बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले शनिबार आयोजित समारोहमा पार्टी कार्यालय उद्घाटन गरे ।

फिक्कलको पुरानो सब्जी बजार लाइनमा पार्टी कार्यालय स्थापना गरिएको हो । त्यस अवसरमा पाण्डेले अहिले आफूहरूले नेकपा (एमाले) विभाजन गरेको नभई विद्रोह गरेको बताए । ‘कम्युनिस्ट पार्टीको रक्षाका लागि हामी लडेका हौं । यो पार्टी विभाजन होइन, विद्रोह हो,’ उनले भने, ‘विद्रोहबाट जन्मेको शक्ति सुरुमा सानै हुन्छ तर उसको बाटो सही छ भने त्यो झाँगिन्छ ।’ पाण्डेले छुट्टै पार्टी बनाउनु आफूहरूको रहर नभई बाध्यता भएको पनि बताए । एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन सम्भव नदेखेको र सच्याउन जति कोसिस गरेपनि सम्भव नभएको उनले जनाए ।

त्यस अवसरमा पाण्डेले अमेरिकाको सुरक्षा रणनीतिमा नेपाललाई फसाउन खोजिएको बताए । ‘मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)को प्रावधान संशोधन नभई पास गर्न सकिँदैन,’ उनले भने, ‘पूर्वप्रधानमन्त्री झलनाथ खनाल संयोजकत्वमा रहेको कार्यदलको सुझावअनुसार एमसिसीका प्रावधान संशोधन हुनुपर्छ ।’ उनले संशोधनबिना एमसिसी पास गर्न सकिँदैन भन्ने नै आफूहरूको धारणा भएको बताए ।

पाण्डेले गठबन्धनका अन्य दलहरूसहितको सहभागितामा यही असोज ५ देखि ६ भित्रमा सरकार विस्तार हुने पनि बताए । ‘प्रदेश नम्बर १ र बागमती प्रदेश सरकारको नेतृत्व पनि अब हामीले नै गर्दैछौं,’ पाण्डेले भने, ‘सम्भवतः आउँदो २२ गते प्रदेश १ को सरकार ढल्छ, २४ गतेदेखि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार पनि रहँदैन ।’ सूर्याेदय नगरमा पार्टी कार्यालय स्थापना अवसरमा नगरका विभिन्न वडाबाट नेता–कार्यकर्ता सहभागी भएका थिए ।

पार्टी नेता तथा सूर्याेदय नगरका प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यालय उद्घाटन समारोहमा पार्टी जिल्ला अध्यक्ष भक्त केसी, प्रदेश सांसद खिनु लङ्वा लिम्बू, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइलीलगायत नेकपा (एस)का पार्टी नेता–कार्यकर्ताको सहभागिता थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार