मायाको पीडा बाँड्दै ‘मायाको संसार’

  आवाज संवाददाता

इलाम । नत वेपत्ता पति भेट्टिए, नत राज्यले राहत दियो, नत आवश्यकता परेको बेला आफ्नो जग्गा जमिननै प्रयोग गर्न पाइन् । अन्ततः एउटा व्यक्तिको जीवन भित्र धेरै समस्या र पीडा लुकेका छन् । अहिले उनै एक पात्र बनेर ‘मायाको संसार’ वृत्तचित्रमा उभिएकी छन् माया भट्टराई ।
२०६४ वैशाख ७ गते कान्छी छोरी जन्मने क्रममा प्रत्सव पीडाले च्यापेका बेला धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शल्यक्रियाका लागि वेडमा सुताएर औषधी लिन निस्किएका पति लोकेन्द्र भट्टराई अहिले सम्म मायालाई भेट्न फर्किएका छैनन् । उनी कहाँ गए कता वेपत्ता भए भन्ने कुरा मायालाई मात्र होइन परिवारका कुनै सदस्यलाई पत्ता छैन । लोकेन्द्रको अवस्था बारे राज्यनै बेखबर छ अहिले सम्म ।
लोकेन्द्र वेपत्ता हुनका पछाडि विगतको शसस्त्र द्धन्द्धनै एक मात्र कारण हो जस्तो लाग्छ मायालाई अहिले पनि । तात्कालिन विद्रोही समुहबाट हत्या गरिएका मायाका ससुरा साविक शान्तिपुर गाविसका पूर्व प्रधानपञ्च चन्द्रकान्त भट्टराई हत्या सँगै पीडित बनेको मायाको परिवारले अहिले पनि राहत महशुस गर्न पाएको छैन ।
द्वन्द्वको असरले नै लोकेन्द्र बेपत्ता भएको भन्दै गाउँ र जिल्ला तहका सरकारी निकायले लोकेन्द्रलाई बेपत्ताको सूचीमा राख्न सिफारिस गरे । तर, २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौतापछि उनी बेपत्ता भएको भन्दै उपल्लो सरकारी निकायले लोकेन्द्रलाई बेपत्ताको सूचीमा राखेन । मायाले आफ्ना पतिलाई सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएका व्यक्तिको सूचीमा राख्न दर्जनौंपटक आग्रह गरिन्, अझै गरिरहेकी छिन् । ‘आयोगले पटक–पटक आश्वासन दियो तर आश्वासनमै सीमित भयो,’ माया दुखेसो पोख्छिन्, ‘मेरो श्रीमान्माथि सयौं पटक धाकधम्की आए, निकै कठिन अवस्थामा उहाँ बेपत्ता हुनुभयो तर राज्यले बेपत्ता भएकोसम्म देखिदिएन ।’
पछिल्लो पटक पनि जिल्ला समन्वय समितिले लोकेन्द्र द्धन्द्धका क्रममा वेपत्ता भएको हो भन्दै पुनः एउटा सिफारिस बनाइ दिएको छ । ‘पहिला जनार्दन शर्मा मन्त्री हुँदा जिससबाट सिफारिस ल्याउनु वेपत्ताको सुचीमा राख्छौं भनेका थिए । उनको सरकार ढल्यो , अहिले उनी फेरि मन्त्री भएका छन्, केही हुन्छ कि भनेर जिससलाई पुनः सिफारिस बनाइदिन आग्रह गरें, जिसस प्रमुखले एउटा सिफारिस बनाइ दिनुभएको छ ।’ मायाले भनिन् ‘जीवन भर पीडा सँगै लडिरहनु पर्ने रहेछ ।’
एक छोरा र दुई छोरीकी आमा मायाले छोराछोरीलाई खुवाउन र पढाउन पनि निकै कस्ट सहनु परिरहेको छ । पतिका नाममा भएको जग्गा जमिन आफ्ना नाममा सार्न र आम्दानीको स्रोतका लागि वैकल्पिक बाटो खोज्न नपाउँदाको दुःख त सुनिसक्नुको छ ।
मायाको यही दुःखलाई समृद्धि भिडियो सेन्टरले मायाको संसार वृत्तचित्र सार्वजनिक गरिसकेको छ । निकै जटिल अवस्था पार गरेर सफलताको बाटोमा उक्लिएकी मायाको मार्मिक कथा र संघर्षबाट अरूले शिक्षा लिने वृत्तचित्रका परिकल्पनाकार रामप्रसाद ढुंगेलले बताए । ‘माया भट्टराईको जीवन संघर्षबाट अरूलाई पनि उत्प्रेरणा र ऊर्जा मिल्छ,’ ढुंगेलले भने, ‘निकै दुःख झेलेर सफलताका पाइला चालिरहेकी माया धेरैका लागि दृष्टान्त बन्न सक्छिन् ।’
वृत्तचित्रमा मायाले आफ्नो कुनै लगानी भने गरेकी छैनन् । ‘मैले लगानी केही गरिन, मेरो सहयोगकै लागि समृद्धि भिडियो सेन्टरले वृत्तचित्र बनाइ दिनु भएको छ । यो वृत्तचित्र हेरेर धेरैले फोन गरिरहनु भएको छ ।’ मायाले भनिन् ।
पति बेपत्ता भएपछि घरमा कमाएर ल्याउने बाटो हरायो । सुत्केरी मायालाई खुट्टा टेक्न र ३ छोराछोरीको गाँस जम्मा गर्न निकै कठिन भयो । उनी सदरमुकाम आइन् । पोल्ट्री सप्लायर्स, तरकारी खेती र किराना पसल सञ्चालन गरी बिहान–बेलुकाको छाक टार्नसक्ने भइन् । आफ्ना छोराछोरीलाई शिक्षादीक्षा दिइन् । उनका छोरा रेबन सिड्नीको केम्स ओन विश्वविद्यालयमा इन्फर्मेसन टेक्नोलोजी अध्ययन गर्दैछन् । कान्छी छोरी रेजिना कक्षा ९ मा पढ्छिन् । ‘जति पीडा खप्नुपरेपनि तयार छु तर मेरा श्रीमान्लाई कसले, किन कता पु¥यायो भन्ने थाहा पाउन पाए सन्तोष मिल्नेथियो,’ उनले भनिन्, ‘राज्यले वेपत्ताको सुचीमा त राखेन, ठीकै छ, कम्तिमा पनि आफ्नै नागरिक हो भने राज्यले सुरक्षा दिनु पर्छ, खोजी गरिदिनु पर्छ, हामीलाई वेपत्ताको खबर होइन जीवित मान्छेको खबर चाहिएको छ । त्यसैले अहिले आउनुहुन्छ कि भरे आउनुहुन्छ भनेर बाटो हेरिरहेकी छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार