जिन्दगीको बहावमा

समय उस्तै नरहला

र परिस्थिति,

उस्तै नरहला हावा,

पानी आकाश अनि धर्ती

आँधी तुफान सरि

उडाएर लग्ने भावनाहरु

भविष्य र वर्तमानमा रुम्मल्लिएका

उथलपुथल चाहनाहरु

एकतर्फी मायाका ब्याजहरु

आठ रेक्टर भूकम्पका

भग्नावाशेषझैँ यादहरु

उस्तै नरहला दिनहरु

उस्तै नरहला

रातहरु l

समय उस्तै नरहला

र परिस्थिति,

उस्तै नरहला

हावा, पानी

आकाश अनि धर्ती,

भौतिक भुमरीमा

डुबुल्की मार्दै उत्रिने इच्छाहरु

कृष्ण भीरको एक ढिस्कोजति

निराशाले थिचेका अपेक्षाहरु

युवा बाहिर्याउन तल्लिन चिल गाडीहरु

मनकोशी को बाँधले

थामिनसक्नु भल बाढीहरु

उस्तै नरहला पलहरु

उस्तै नरहला क्षणहरू

l समय उस्तै नरहला

र परिस्थिति,

हावा, पानी आकाश अनि धर्ती,

पुल पारि देखिने झिलिमिली

बत्तीझैँ सपनाहरु

माझी दाइको डुंगा प्रतिक्षारत

विपनाहरु मै खाउँ मै लाउँ

सोचाइहरु जीवनका उतारचढाव

चट्याङसरि भोगाइहरु

उस्तै नरहला

यथार्थ उस्तै नरहला

परिकल्पना l

समय उस्तै नरहला

र परिस्थिति,

हावा, पानी

आकाश अनि धर्ती,

‘अनसिन’ छाडिएका पत्रका खातहरु

जानी नजानी ‘म्युट्’

गरिएका तिता मिठा बातहरु

आफन्तका विश्वासघातहरू

निर्दोष आँखाका,

दोषी हेराइ अपरिचित हात

र साथहरु

उस्तै नरहला

दूरी उस्तै नरहला

मजबुरी

उस्तै नरहुँला म

के, उस्तै रहन्छौ र तिमी ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार