इलाम । देशमा राजनीतिक परिवर्तन भयो । पटक–पटक सरकार परिवर्तन भए तर आफ्नै देशको सीमा स्तम्भ निर्माणका लागि भने कुनै सरकारले ठोस कदम चाल्न सकेका छैनन । नेपालको पूर्वी सीमा क्षेत्रमा हराएका र भत्किएका सीमा स्तम्भहरु वर्षौं बित्दा पनि निर्माणको पहल समेत हुन नसक्नु नेपालीहरुका लागि दुःखद हो ।
पूर्वी सीमामा रहेका धेरै सीमा स्तम्भहरु हराएका छन् भन्ने कुरा वर्षौं अघि प्रमाणित भइसकेको विषय हो । इलामको सन्दकपुर देखि जिर्मले सम्मको भू–भागमा रहेका धेरै सीमा स्तम्भहरु अहिले पनि हराएको अवस्थामा रहेको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । यसअघि सन् २०१३–२०१४ मा नेपाल–भारत अधिकारीहरुले सीमा क्षेत्रको अनुगमन गरेको भए पनि त्यसपछि सीमास्तम्भ पुनर्निर्माणको कुनै योजना आउन सकेको छैन । त्यस समयमा नेपालका तर्फबाट सीमा विभागका उपमहानिर्देशक मधुसुधन अधिकारी, प्रमुख नापी अधिकृत तथा सीमा व्यवस्थापन प्रमुख दिपक दाहाल, सीमा अनुगमन विभागका अधिकृत पुण्यप्रसाद पौडेल र मनोजप्रसाद सिंह, शहरी विकास तथा भवन निर्माण डिभिजनका इन्जिनियर पारस अधिकारी साथै भारततर्फबाट सुकियास्थित भूमिसुधार कार्यालयका अधिकृत स्जाट्लर लटेला र रुद्र क्षेत्री सम्मिलित टोलीले नेपाल–भारत सीमास्तम्भहरुको अनुगमन गरेको थियो ।
उक्त अनुगमनमा इलामको जिर्मलेका ८०, ८१ र ८२ नम्बरका ३ मुख्य सीमास्तम्भ (जङ्गगे पिलर), १० सब्सी दायरी पिलर (एसपी) र २९ माइनर पिलर (एमपी) गायब भएको पाइएको थियो । हराएका सीमास्तम्भको संकेतका लागि राखिएका ३ रिफ्लेक्ट पिलर (आरपी) पनि भेटिएका थिएनन् । विभागको तथ्याङ्कमा यस क्षेत्रमा तीनै प्रकारका जम्मा एक सय सात सीमास्तम्भ हुनुपर्ने उल्लेख छ ।
अनुगमनपछिको तथ्याङ्कमा पाँच मुख्य सीमास्तम्भ, ४३ एसपी र ४५ एमपी हुनुपर्ने र अहिले भएका सीमास्तम्भ पनि जीर्ण भएकाले मर्मत गर्नुपर्ने अवस्थामा उल्लेख थियो । भारतीय पक्षले भने केही समयअघि नै नेपालसँग समन्वय नगरी सीमाको अनुगमन गरेर लागत अनुमान समेत निकालिसकेको पाएको विभागले अनुगमनका क्रममा बताएको थियो । दुवै देशबीचका सीमास्तम्भमध्ये जोडी नम्बर रहेका स्तम्भ भारतले र बिजोडी नम्बर रहेका स्तम्भ नेपालले निर्माण गर्ने प्रावधान रहेको जनाइएको छ । विभागले सन् २००७ मा पनि यो क्षेत्रका सीमास्तम्भ अनुगमन गरी नक्सा तयार पारेको थियो ।
नेपाल सरकार र भारत सरकारको संयुक्त सर्भे टोलीले अनुगमन तथा सर्भे गर्ने र हराएका, भत्किएका सीमा स्तम्भहरु निर्माण गर्नुपर्ने भएपनि संयुक्त सर्भे टोली नआउँदा सीमा स्तम्भ निर्माणको काम हुन नसकेको हो ।
‘अहिले पनि इलामको सन्दकपुर देखि जिर्मले सम्म २०८ सीमा स्तम्भ, २५ वटा मुख्य स्तम्भ, १३७ वटा सहायक स्तम्भ र ४६ वटा साना पिल्लर हुनुपर्ने हो तर ९९ वटा सीमा स्तम्भ हराएको अवस्थामा छ ।’ प्रजिअ खड्काले भने ‘सीमा स्तम्भ निर्माण सम्बन्धी माथिबाट कुनै जानकारी, निर्देशन आएको छैन ।’ खड्काका अनुसार दुवै देशको केन्द्रीय सरकारहरु बीच बैठक गरेरमात्रै संयुक्त सर्भेटोली खटिने प्रावधान छ । तर, संघीय सरकारले सीमा सम्बन्धी खासै चासो नदेखाउँदा हराएका भत्किएका सीमा स्तम्भ निर्माण हुन नसकेका हुन् । त्यसोत प्रजिअ खड्काका अनुसार विगतमा दुई देशका छिमेकी जिल्लाका अधिकारीहरु बीच सीमामा हुने चोरी तस्करी नियन्त्रण र सीमा सुरक्षाका विषयमा बस्ने बैठक पनि कोभिड शुरु भएयता बस्न सकेको छैन ।
यता पूर्वी सीमा क्षेत्रमा नेपाली स्थानीय बासी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच पटक–पटक तनाब हुने गरेको छ । गतवर्ष नेपाली भू–भागमै बनाइएका भौतिक संरचना निर्माणमै अवरोध गरेको एसएसबीले सन्दकपुर देखि छब्बीसे क्षेत्रमा विभिन्न अवरोध पनि गर्ने गरेको छ । नेपाल तर्फपनि शसस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट राखिए पछि स्थानीय बासीले केही सुरक्षित महशुस गरेको स्थानीय बताउँछन् ।