माधव नेपालको राजनीतिक प्रतिवेदन: एकीकृत समाजवादीकाे प्रमुख दुश्मन एमाले,गठबन्धनकाे बैशाखीकाे भरमा चुनाव लड्ने

  आवाज संवाददाता

इलाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । मङ्गलवारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।

अध्यक्ष नेपालले प्रस्तावमा वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनलाई प्रतिनिधिसभाको पूर्ण कार्यकाल जोगाएर आउँदो चुनावसम्म लैजानुपर्ने बताएका छन् ।

‘अहिलेको हाम्रो एउटा महत्त्वपूर्ण राजनीतिक कार्यभार अहिले कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तीमा पनि वर्तमान प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आउँदो चुनावसम्म टिकाउनु र सहमति एवम् सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम नागरिकलाई सेवा प्रदान गर्नु हो’, प्रस्तावमा भनिएको छ ।

बैठकमा पेस भएकाे १३ पेज लामो राजनीतिक प्रतिवेदनमा नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई प्रमुख दुश्मन किटान गरेको छ । केपी ओली नेतृत्वको एमालेले दक्षिणपन्थी धारको नेतृत्व गरेको भन्दै समाजवादीले मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको दाबी गरेकाे छ । नेपालको राजनीतिक प्रतिवेदनमा एमालेले अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृति बोकेको दक्षिणन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग गठबन्धन गर्ने सोच बोकेको उल्लेख छ ।

प्रतिवेदनमा भनिएकाे छ, ‘केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहकांरी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो । जनताको आशामा तुषारपात भयो । केपी ओलीको कारणले नेकपाको एकता भाँडियो र उनकै कारणले नेकपा (एमाले) को एकता पनि तोडियो । परिणामस्वरूप संसदमा उनले बहुमत गुमाए ।’

नेता नेपालले लोकतन्त्रको रक्षाका लागि सहकार्य गरेको प्रस्तावमा उल्लेख गरेका छन् ।

यस्तै नेपालले छिमेकी तथा सवै मित्र राष्ट्रसँग पारस्परिक सम्मान र समानताका आधारमा सम्बन्ध विकास गर्नु पनि अर्को एक महत्त्वपूर्ण राजनीतिक कार्यभार भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार