४२ औं सामाजिक सेवा दिवस मनाइयो

    ४२ औं सामाजिक सेवा दिवस विविध कार्यक्रम गरि मनाइएको छ । दिवसका अवसरमा गैस सरकारी संस्था महासंघ इलामको आयोजनामा इलाम नगरपालिका–९ स्थित राहसल बाल अनाथालयमा रहेका बालबालिकालाई विभिन्न पौष्टिक आहार वितरण गरिएको छ ।
पछिल्लो पटक कोभिड–१९ बाट यहाँ रहेका बालबालिकामा संक्रमण देखिएपछि उनीहरुलाई पौष्टिक आहार वितरण गर्दै अनाथ बालबालिकाको अवस्थाका विषयमा जानकारी लिइएको थियो । गैसस महासंघ इलाम अध्यक्ष कमल नेपालको अध्यक्षतामा भएको कार्यक्रममा बाल अनाथालयका अध्यक्ष राजेन्द्र चौहानले यहाँ रहेका केही बालबालिकाको जन्मदर्ता गराउन नसकिएको जानकारी दिए ।

    ‘कतिपय बालबालिका अभिभावक विहिन हुँदा उनीहरुको जन्मदर्ता गराउन र नागरिकता बनाउन पनि अप्ठ्यारो परिरहेको छ ।’ चौहानले भने ‘पछिल्लो समय कोभिड संक्रमणले पनि निकै समस्या पा¥यो ।’
कार्यक्रममा प्रमुख अतिथि गणेशप्रसाद बरालले जन्मदर्ता नभएका बालबालिकाका लागि जनप्रतिनिधिलेनै सनाखत गरिदिन सक्ने बताए । ‘धेरै बालबालिका जन्मदर्ताको अधिकारबाट बञ्चित छन्, उनीहरुका अभिभावक छैनन्, यदि अभिभावक नभेटिएको खण्डमा जनप्रतिनिधिले सनाखत गरिदिन सकिन्छ, यदि जनप्रतिनिधिले मानेनन् भने म आफैं उनीको सनाखत गरिदिन सक्छु, बालबालिकालाई जन्मदर्ता कै अधिकारबाट बञ्चित गर्न हुँदैन ।’
कार्यक्रममा इलाम नगरपालिका प्रमुख महेश बस्नेतले अनाथालयका लागि आवश्यक व्यवस्थापकीय कुरालाई नगरपालिकाले मागमा आधारित कार्यक्रम दिन सकिने बताए । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जन्मदर्ता र नागरिकताको समस्या समाधान गर्न सकिने बताए । उनले अनाथ बालबालिकाका लागि पौष्टिक आहारको व्यवस्था गर्न बाँझो रहेका जमिनको पनि उपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गैसस महासंघ प्रदेश १ का अध्यक्ष प्रकाश अधिकारीले अहिले समाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुको सक्रियता घट्दै गएको बताए । उनले भने ‘सामाजिक क्षेत्रमा काम गर्न उत्साह थप गर्नुपर्ने अवस्था छ । प्रत्येक व्यक्तिले आफ्नो आम्दानीको केही प्रतिशत रकम समाजिक क्षेत्रमा खर्च गर्ने बानीको विकास गर्नुपर्ने आवश्यकता देखिएको छ ।’ गैसस महासंघ इलाम उपाध्यक्ष भक्त थामीले स्वागत गरेको कार्यक्रम भीम संगम कार्कीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार