आजदेखि इलाममा २३ हजार जोड कोरोना विरुद्धको खोप लगाइँदै


इलाम । इलाममा शुक्रबारबाट यस अघि छुटेकालाई पुनः कोभिड विरुद्धको खोप लगाइदैछ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका र रोङ गाउँपालिका शुक्रबार र शनिबार खोप कार्यक्रम चल्दैछ । देउमाई नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा भने आइतबार र सोमबार कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम छ । खोप कार्यक्रम सञ्चालनको लागि पालिकाहरुमा खोप पठाउँन थालिएको स्वास्थ्य कार्यालय इलामका खोप सुपर भाइजर गंगाधर पण्डितले जानकारी दिए ।

यो पटक यस अघि खोप लगाउन छुटेको लक्षित समुहलाई भेरोसेलको पहिलो मात्रा खोप लगाइनेछ । यसमा यस अघि खोप लगाउन छुटेका ४५ वर्ष माथिको खोप लगाउँन छुटेका नागरिक, १८ वर्ष माथीका विद्यार्थीहरु, यसअघि छुट भएका अग्रपत्तिमा खटिने अत्यावश्यक सेवाका व्यक्तिहरु, शिक्षक र पर्यटकीय क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई खोप लगाइने छ ।

स्वास्थ्य कार्यालयले प्रत्येक स्थानीय तहमा वितरण हुने खोपको विभाजन गरेको छ । इलाम नगरपालिकामा पाँच हजार आठ सय डोज, सूर्योदयमा चार हजार तीनसय ५०, माई नगरपालिकामा दुई हजार छ सय, देउमाई नगरपालिकामा दुई हजार चारसय, चुलाचुली गाउँपालिकामा एक हजार छ सय ५०, सन्दकपुर गाउँपालिकामा एक हजार पाँच सय ५० डोज खोप छुट्याइएको छ । त्यस्तै माइजोगमाई गाउँपालिकामा एक हजार चार सय ५०, फाकफोकथुम गाउँपालिकामा एक हजार पाँच सय, रोङ गाउँपालिकामा एक हजार तीन सय र माङसेबुङ्ग गाउँपालिकामा आठ सय खोप छुट्याएर पालिकामा पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हालसम्म १९ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन् । दुई लाख ५० हजार पाँच सय ६६ जना मध्ये ५९ हजार पाँच सय ९४ जनाले कोरोना विरुद्धको खोप पुरा गरेको स्वास्थ्य कार्यालय इलामका गंगाधर पण्डितले जानकारी दिए । जिल्लाका १५ हजार ६ सय ३९ जनाले ‘सिङ्गल डोज’ को जोनसोन एण्ड जोनसोन खोप पाएका छन् भने ४३ हजार नौ सय ५५ जनाले कोभिशिल्ड, भेरोशिल र एष्ट्राजेनिकाको गरेर दुवै डोज पुरा गरेका स्वास्थ्य कार्यालय इलामले जानकारी दिएको छ । पहिलो डोज मात्रै लगाउनेको संख्या १५ हजार हाराहारी छ । पहिलो डोज लगाउनेको संख्या समेत जोड्ने हो भने इलाममा कोभिड बिरुद्धको कुनै न कुनै खोप लगाउनेको संख्या ३० प्रतिशत हाराहारी छ । जिल्लाका एक लाख ७५ हजार नौ सय ७२ जना खोप लगाउन योग्य व्यक्तिले कुनैपनि खोप पाएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार