विपद् प्रतिकार्य योजना बनाइने


इलाम । जिल्लामा पुरानै किसिमको विपद् प्रतिकार्य योजना रहिरहेकाले आगामी चैत महिना भित्र नयाँ विपद् प्रतिकार्य योजना बनाइने भएकोे छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आगामी मंसिर सम्ममा जिल्लाका सबै वडामा वडा स्तरीय विपद् प्रतिकार्य योजना निर्माण गर्ने, माघ महिना भित्र पालिका स्तरीय योजना र चैत महिना भित्र जिल्ला स्तरीय विपद् प्रतिकार्य योजना तयार गरिसक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

इलाममा अन्य जिल्लाको तुलनामा फरक किसिमको विपद्का घटना हुने गरेका छन् । बढी जसो आगलागी र चट्याङबाट धनजनको क्षति हुने गरेको प्रजिअ खड्काले बताए । ‘पुरानो किसिमको विद्युत वाइरिङ, जंगलभित्रबाट विद्युत तार विस्तार आदि कुराले विद्युत सर्ट भएरै आगलागीका घटना भएको पाइएको छ ।’ प्रजिअ खड्काले भने ‘गएको वर्ष चार जनाको विपद्मा परि ज्यान गएको छ, हामीले १३ लाख रुपैयाँ राहत प्रदान गरेका छौं ।’ आगोलागीबाट सूर्योदयको रक्तकाली टी स्टेटमा करोडौं रुपैयाँको क्षति भएको थियो ।

यस्तै नेपालटारमा पनि एक घर जलेको थियो । अब बन्ने नयाँ ढाँचाको विपद् प्रतिकार्य योजनाले विपद् जोखिम कम गर्न थप सहयोग पुग्ने अपेक्षा लिइएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार