सिर्जना मृत्यु प्रकरण : अझै निष्कर्षमा पुगेन प्रहरी

  आवाज स‌‌म्वाददाता

बिर्तामोड ५ की सिर्जना बस्नेतको मृत्यु प्रकरणमा दुई महिनादेखि अल्मलिएको प्रहरी अनुसन्धान अझै ठोस् निष्कर्षमा पुग्न सकेको छैन। घटनाको विभिन्न पाटोमा गरिएको अनुसन्धानले ठोस निष्कर्ष दिन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अलग-अलग तीनवटा टोलीले घटनाको अनुसन्धान गर्दै आए पनि बलियो प्रमाण भेट्न नसकिएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले बताए। ‘यसै हो भन्नका लागि गतिलो प्रमाण भेटिएको छैन’, प्रवक्ता थापाले भने, ‘ढिलोछिटो मात्रै हो, प्रहरी अनुसन्धान एउटा निष्कर्षमा पुगेर छोड्छ।’असार २८ गते बिहान आफू बसेको घर अगाडि अर्धनग्न अवस्थामा भेटिएकी बस्नेतको मृत्यु प्रकरणमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापा, प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटिएको छ। टोलीले अलग–अलग अनुसन्धान गरिरहेको हो।

२५ वर्षीया बस्नेत स्थानीय सहकारी संस्थामा काम गर्दै आएकी थिइन्। परिवारका सदस्यसँगै राति खाना खाएर सुत्न गएकी बस्नेतको शव बिहान घरअगाडि अर्धनग्न अवस्थामा फेला परेको थियो। घरको भित्रबाट मूलगेटमा चाबी लगाइएको र बाहिरबाट समेत कोही पसेको प्रमाण फेला नपरेको प्रहरीले जनाउँदै आएको छ।शरीरको भित्रीबस्त्र घुँडासम्म पुगेको अवस्थामा फेला परेकी बस्नेतको बलात्कारपछि हत्या भएको आशंका गर्दै प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको थियो। स्वास्थ्य परीक्षण लगायतका रिपोर्टका आधारमा बलात्कार भएको पुष्टि नभएको प्रवक्ता थापाले बताए। प्रहरीले उनको आत्महत्या हो भन्ने विषयमा पनि यथेष्ट प्रमाण फेला पार्न सकेको छैन।

अनुसन्धानका विभिन्न चरण चलिरहँदा प्रहरीले अझै यसै भन्ने स्थिति नरहेको प्रवक्ता थापाले बताए। कसैसँग झगडा र विवाद पनि नभएको कारण सिर्जनाको मृत्यु प्रकरण रहस्यको घेरामा पर्दै गएको छ।‘प्रमाण फेला नपरेसम्म अनुसन्धान चलिरहन्छ’, प्रवक्ता थापाले भने, ‘यहिसम्मको अनुसन्धानमा भेटिएको कुरा भनौला, फेरि अनुसन्धान गर्ने क्रममा अर्को विषय भेटिन सक्छ । त्यसैले अनुसन्धान नसकिएसम्म यसै भन्न सकिदैन ।’

झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराई बस्नेत मृत्यु प्रकरणका विषयमा प्रहरी अनुसन्धान अझै लम्बिने बताउँछन्। शव फेला परेकै दिन प्रहरीले अनुसन्धानका लागि ल्याएको कुकुर घरको माथिल्लो तलासम्म पुगेर फर्किएको थियो।उनको मृत्यु कसरी भयो भन्ने अझै रहस्यमय बनेको छ । बस्नेत छतको गारोमा बस्दा अन्जानमा खसेको हो कि भन्ने आँकलन समेत गर्न थालिएको छ ।बलियो प्रमाण फेला नपारेसम्म घटनाबारे बोल्न नसकिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार