सांगठनिक गतिविधि तीब्र पार्दै एमाले

    नेकपा एमाले इलामले जिल्लाभर पार्टीका गतिविधिलाई तीब्रता दिएको छ । वडा–वडा सम्म पुगेर कार्यकर्ता भेटघाट गर्ने रणनीति लिएको एमालेले पछिल्लो समय पार्टी निकट विभिन्न कमिटी र भातृ संगठन संगठनका कार्यक्रमहरुलाई तीब्रता दिएको छ ।
शनिबारमात्रै जिल्लाका विभिन्न पालिकाहरुमा एमालेका कार्यक्रम सम्पन्न भएका छन । एमाले इलाम नगरपालिका–११ साङ्गरुम्बामा पाटी प्रशिक्षण सम्पन्न गरेको छ । वडाध्यक्ष निरकुमार चम्लागाईंको अध्यक्षता र एमाले प्रदेश कमिटी सदस्य मणिकुमार लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाम नगरकमिटी इन्चार्ज धिरेन चेम्जोङ, राजकुमार थापा र रविन्द्र सुवेदीले प्रशिक्षण दिएका थिए ।भरत घिमिरेले स्वागत गरेको कार्यक्रममा नगर कमिटी सचिव तिलक ठकुरी, उप–सचिव देवेन्द्र चापागाईं, दिपकिशोर लिङ्गद्म, हेमान सुनुवार, सञ्जीव राईलगायतको उपस्थिति रहेको थियो । एक सय बढी गाउँस्तरीय नेता कार्यकर्ताको सहभागीता रहेको प्रशिक्षणमा प्रमुख अतिथि लिम्बुले गाउँ–गाउँमा रहेका एमाले समर्थकहरुलाई एक ढिक्का भएर पाटी पंक्तिमा उभिन आग्रह गरेका थिए ।

     ‘दुःखी गरिबहरुको पक्षमा उभिन जहिले पनि एमाले तयार छ, सरकारमा हुँदा होस अथवा सरकार बाहिर ।’ लिम्बुले भने ‘गरिब, दुःखी र वृद्धवृद्धाको दुःखमा एमालेले मह्लम लगाउँछ । तपाईंहरु एक ढिक्का भएर एमालेको पंक्तिमा अडिग रहनुहोस, तपाईहरुको सपना एमालेले पूरा गर्नेछ ।’ प्रशिक्षणमा एमालेले संसदीय निर्वाचनमा इलाम क्षेत्र नम्बर–२ मा विजयी भएपश्चात आएको विकास र त्यसबाट भएको परिवर्तनको समेत चर्चा गरिएको थियो ।
उता एमालेको सूर्योदय नगरपालिका–५ स्थित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कमिटी सचिव महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाका एमाले नेताकार्यकर्ता तथा एमाले समर्थकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला सचिव बस्नेतले एमालेका पुुराना देखि नयाँ सदस्यहरुलाई पाटी पंक्तिमा दरिलो गरि उभिन आग्रह गरेका थिए । बस्नेतले जनताको बहुदलीय जनवादको पक्षमा रहेको एमालेले आफ्नो पार्टीका कुनै पनि व्यक्ति र आफू निकटका भातृ संगठनहरुलाई अवसर वाँडफाँट गरेर अगाडि लैजाने बताए । ‘तपाईहरु कोही पनि विचलित नहुनुहोस, एमाले केही पनि भएको छैन, कसैले विचार विगार्न खोज्छ भने उनीहरुलाई तपाईहरुलेनै सचेत गर्नुहोस, उस्लाई पनि नेकपा एमालेले नै अवसर दिनेछ ।’
नेकपा एमाले चुलाचुलीको पनि शनिबार नै पालिका स्तरीय पूर्ण बैठक सम्पन्न भएको छ । यता सन्दकपुर गाउँपालिका–५ स्थित जमुनामा पनि एमालेले वडा भेला सम्पन्न गरेको छ । एमाले जिल्ला कमिटी  उप–सचिव उमेश गुरुङ, सचिवालय सदस्य उदय राई, जिल्ला कमिटी सदस्य कृष्ण पाठक, जीतबहादुर साँवा, एमाले सन्दपुर अध्यक्ष याम राई, दिपक गुरुङ, लगायतको उपस्थिति रहेको भेलामा वक्ताहरुले सन्दकपुरमा एमाले पार्टी नफुटेको र एकै ढिक्का रहेको बताएका थिए । कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला कमिटी अध्यक्ष राम रानाकाे प्रमुख अतिथ्यतामा भएकाे थियाे ।वक्ताहरुले ०७५ जेठ २ भन्दा अगाडिकै अवस्थामा पाटी फर्किएकाले सबै नेता कार्यकर्तालाई विचलिन नहुन आग्रह गरेका थिए ।

     यसैगरी शनिबार देउमाई नगरपालिका स्थित राष्ट्रिय युवा संघको युवा भेला सम्पन्न भएको छ । एमाले पाटी सचिवालय सदस्य गणेशप्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा देउमाइ नगरपालिका प्रमुख सूर्य पोख्रेल, देनपा नगर कमिटी अध्यक्ष भीमलाल खनाल जिल्ला सदस्य सदन राई, वडाध्यक्ष भगीरथ राई, अरुण बराल, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रवेश पराजुली, प्रदेश अध्यक्ष रविन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो । युवा संघ नगर कमिटी अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरालले देश बदल्ने युवा शक्तिलाई एमालेले एकिकृत गर्दै अगाडि बढ्ने बताए । ‘अहिले पाटीलाई अगाडि बढाउन र गाउँ(गाउँ, वडा(वडा सम्म पाटी विस्तारको कामलाई तीब्रता दिनुपर्ने आवश्यकता छ ।’ बरालले भने ‘यस्तो परिस्थितिमा युवाहरुले पाटीलाई एकढिक्का पार्न खटेर लाग्नु पर्छ । तपाईहरुलाई एमाले जुनसुकै सहयोग गर्न तयार छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार