विराटनगरमा ल्याण्ड गर्ने जहाजमा जब ल्याण्डिङ गियर खुलेन…

काठमाडौं । सोमबार बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि विराटनगर एयरपोर्ट पुगेर पनि अवतरण हुन नसकी काठमाडौं फर्कियो । बुद्ध एयरको ९–एन–एएनआई कल साइन र उडान नम्बर यू४–७०१ उक्त जहाजमा ७३ जना यात्रु र ४ क्रू मेम्बरसहित ७७ जना सवार थिए । विहान ८ः२० मा काठमाडौंबाट उडेको विमान जब विराटनगर एयरपोर्ट पुग्न लाग्यो तब एयर होस्टेसले जहाज विराटनगर एयरपोर्ट नजिक आइपुगेको र केहीबेरमा अवतरण हुने यात्रुलाई जानकारी गराइन् ।

एयर होस्टेसले अवतरण हुन लागेको भनेपछि पनि जहाज विराटनगरको आकाशमा होल्ड भइरह्यो । यात्रुले जहाज ल्याण्ड नहुनुको कारणबारे सोध्न थाले । एयर होस्टेसले सामान्य प्राविधिक समस्या आएकाले जहाज ल्याण्ड नभएको र केही बेरमा ल्याण्ड हुने बताइन् । एयर होस्टेसले त्यसो भनिरहँदा अर्को विमान विराटनगर एयरपोर्टमा ल्याण्ड भइसकेको थियो । १०र१५ मिनेटसम्म घुमेपछि पनि जहाज ल्याण्ड भएन । त्यसपछि एयर होस्टेसले काठमाडौं फर्कन लागेको जानकारी यात्रुलाई गराइन् ।

जहाजमा देखिएको प्राविधिक समस्या समाधान गर्ने प्राविधिक काठमाडौंमा रहेको र सोही कारण जहाज काठमाडौं फर्कन लागेको एयर होस्टेसले बताइन् । जहाज काठमाडौं फर्किएपछि पनि जहाज तत्काल ल्याण्ड भएन । त्यसपछि के भयो रु सोही विमानमा रहेका यात्रु विकास मिश्रको अनुभव उनकै शब्दमा ।

काठमाडौंस्थित सामसुङ नेपालमा कार्यरत म कार्यालय प्रयोजनकै लागि विराटनगर जान लागेको थिएँ । काठमाडौंबाट सहजै उड्यौं । विराटनगर एयरर्पोट आइपुग्न लागेको र केही बेरमा ल्याण्ड हुने सूचना एयर होस्टेसबाट भयो । बिराटनगर एयरपोर्ट माथि पुगेपछि पनि १०र१५ मिनेट जहाजले घुमायो । त्यही बीचमा अर्को जहाज ल्याण्ड भइसकेको थियो । तर, यो विमान किन घुमाइराखेको हो भनेर सोध्यौं । एयर होस्टेस बैनीले सानो टेक्निकल समस्या हो, आत्तिनुपर्दैन, एक छिनमा ल्याण्ड हुन्छ भन्नुभयो । तर, ल्याण्ड भएन । केही समयपछि एयर होस्टेसले हामी काठमाडौं फर्किन लागेको सूचना दिनुभयो । प्राविधिक काठमाडौंमा भएकाले काठमाडौंमा फर्किन लागेका छौं भन्नुभयो ।

काठमाडौं आइसकेपछि पनि जहाजले धेरै फन्को लगायो । धेरै बेर आकाशमै होल्ड भयो । त्यो बेलासम्म खासमा के भएको हो भन्ने कुनै जानकारी दिइएन । के कारणले विमान होल्ड भइरहेको छ भन्ने कुरा भन्नुभएन । सायद यात्रु आत्तिन्छन् भनेर पनि केही नभनिएको होला ।

जब काठमाडौं एयरपोर्ट माथि आइपुग्यौं, हामीले देख्यौं की एयरपोर्टमा भोलेन्टियरहरु, एम्बुलेन्स, दमकल, सुरक्षाकर्मीलगायत सबै रहेछन् । त्यो दृश्य देखेपछि हामी खतरापूर्ण अवस्थामा रहेछौं भन्ने भयो ।

विराटनगरमा केही फन्को लगाउँदा र प्राविधिक समस्या आएकाले काठमाडौं फर्कन लागेको भन्दासम्म यात्रु खासै डराउनुभएको थिएन । तर, जब काठमाडौं एयरपोर्टमा जुन दृश्य हामीले माथिबाट देख्यौं त्यसपछि कोही यात्रु रुनथाल्नुभयो, आत्तिनुभयो । के भएको हो रु किन ल्याण्ड नगरेको हो रु भनेर यात्रुहरु भन्न थाल्नुभयो ।

माथि जहाज उडिरहेको बेलामा म डराइन । सामान्य प्राविधिक समस्या भएको होला भन्ने भयो । तर, जब काठमाडौं एयरपोर्टको दृश्य देखें त्यसपछि म पनि धेरै डराए, आत्तिए । काठमाडौं फर्किएपछि पाइलटले सुरक्षित रुपमा अवतरण गराइदिनुभयो, उहाँलाई धन्यवाद छ ।

काठमाडौंदेखि विराटनगर उडेको बुद्ध एयरको उक्त जहाज दुई घण्टा बढी समय आकाशमा फन्को मारेर काठमाडौं फर्किएको थियो । विराटनगर एयरपोर्ट नजिक पुगेर ल्याण्ड गर्न खोज्दा ल्याण्डिङ गियर नखुलेपछि केही समय विराटनगर एयरपोर्टमा फन्को मारेको थियो । केही समयसम्म ल्याण्डिङ गिएर खुलाउन पाइलट आङगेलु शेर्पाले निकै प्रयास गरे तर सफल भएनन् । त्यसपछि उनले जहाजलाई काठमाडौं फर्काउने निर्णय गरे ।

काठमाडौं एयरपोर्ट माथि आइसकेपछि पनि ल्याण्डिङ्ग गिएर केही समय खुलेन । “केही समयको प्रयासपछि ल्याण्डिङ्ग गिएर खुल्यो र जहाज सामान्य अवस्थामा ल्याण्ड भयो” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने । उनका अनुसार यस्तो अवस्थामा जहाजको इन्धन कम गराउनका लागि काठमाडौं एयरपोर्टमा करिब २४ मिनेट जहाज होल्ड भएको थियो । त्यो समयसम्म विमानस्थल कार्यालयले आकस्मिक अवतरणका लागि चाहिने सबै तयारी पूरा गरिसकेको थियो ।

बुद्ध एयरले विराटनगरमा ल्याण्ड गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको र टावरले पनि गियर नझरेको बताएपछि जहाजलाई पाइलटले काठमाडौं फर्काउने निर्णय गरेको जनाएको छ । जहाज काठमाडौं फर्किएपछि पाइलटले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर जाँच गर्दा सही र झरेको जानकारी पाइलटलाई गराएको र जहाजलाई ‘नर्मल’ अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको बुद्ध एयरले जनाएको छ ।

विमानस्थलका अनुसार उक्त जहाज पार्किङस्थलमा राखिएको छ । बाह्रखरीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार