पर्यटन विकासमा अन्तरपालिका सहकार्य र समन्वय आवश्यक


इलाम । कोभिडले थलिएको पर्यटन क्षेत्रलाई उठाउन अन्तरपालिका क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको इलामका पर्यटन क्षेत्रका सरोकारवालाको निचोड निकालेका छन् । पर्यटन क्षेत्रको पूर्वधार विकासमा पालिका स्तरमा सहकार्य हुनुपर्ने, पर्यटक भित्र्याउन भने नीजि क्षेत्रबाट समन्वय र सहकार्य हुनुपर्ने सरोकारवालाको निचोड छ । पर्यटन दिवसको अवसर पारेर इलाम नगरपालिका पर्यटन प्रवद्र्धन विकास समितिले आयोजना गरेको ‘कोभिडका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव, चुनौती र अवसर विषयक कार्यशाला’ मा सहभागी सरोकारवलाले पर्यटन क्षेत्रलाई फेरी चलायमान बनाउनुपर्नेमा जोड दिए । होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौडेलले कोभिड माहामारीमा पर्यटक शुन्य भएको, होटल ट्राभल एजेन्सि, यातायात क्षेत्र बन्द हुँदा ठूलो आर्थिक क्षति व्यहोर्नु परेको बताए । ‘यो बिचमा व्यवसाय ठप्प भयो, पर्यटकीय क्षेत्रको प्रचार पनि सुस्त भयो, व्यवसायीका बीच सहकार्यर सम्बन्ध विस्तार पनि भएन’, होटल एशोसिएसनका अध्यक्ष पौडेलले भने,‘व्यवसाय बन्द हुँदापनि व्यवसायीले कर्जामा छुट पाएनन्, घरभाडा पनि तिरिनै राख्नुपर्यो ।’

पूर्वेली जीप तथा यातायात सेवा प्रालिका अध्यक्ष गृष्म सुब्बाले व्यवसाय बन्द भएको बेलामा पनि सरकारले राजश्वमा जरिमाना लिएको गुनासो गरे । ‘व्यवसाय पुरै ठप्प भएको बेलामा पनि सरकारले राजश्व बेलामा नलिदा हर्जना तिर्नुपर्ने अवस्था आयो,’ उनले भने,‘माहामारीको बेलामा त सरकारी कार्यालय पनि बन्द थियो, राजश्व बुझाउने अवस्था भएन, बेलामा राजश्व नतिरेपछि सरकारले हर्जनापनि लिन थाल्यो, कराउँदा कराउँदा हर्जना नलाग्ने निर्णय भयो ।’ सरकारले हर्जना छुट गर्दा व्यवसायीलाई कुनै राहात नभएको सुब्बा बताउँछन् । ‘सवारी गुडेको छैन भन्ने सरकारलाई थाहा थियो, राजश्व तिर्न नसक्नेलाई हर्जना छुट दिएर कति पो राहात हुन्छ र ?’, सुब्बाले प्रश्न गरे । कोभिडको अवधिमा राज्यले दिएको सुविधापनि अनेक कठिनाइको कारण उपभोग गर्न नसकेको उनको भनाई छ । ‘होटलहरुलाई विद्युतमा छुट दिने भनियो, होटलमा व्यवसायीको नाममा मिटर राखिएको हुन्छ, होटलको नामको मिटर नै हुँदैन कसरी छुट लिन सकिन्छ’, उनले थपे,‘पर्यटन व्यवसायमा लागेका हामीहरु थला परेका छौ, हामीलाई सान्तवना भएपनि चाहिएको छ ।’

इलामको सूर्योदयका होटल व्यवसायी मोहन दोर्जे कागतेले भने भारतीय पर्यटक भित्र्याउन भारतका पर्यटन व्यवसायीसंग सहकार्य गर्नुपर्ने बताउँछन् । ‘यो बीचमा हामीले धेरै मार्का व्यहो¥यौ, घरभाडा तिर्ने अवस्था छैन’, उनले भने,‘अलिअलि पर्यटक आउँन थालेको छन्, भारतका ट्राभल टुर एजेन्सिसंग लिंक गर्नेहो भने पर्यटक बढाउँन सकिन्छ ।’

अभियान नेपालका कार्यकारी निर्देशक लोकपृय खनालले पर्यटकलाई खुशी पारेर मात्रै पैसा लिन सकिने बताए । ‘पर्यटकलाई लोभ्याउन उनीहरुलाई खुशी पार्नसक्नुपर्छ’, उनले भने, ‘त्यसका लागि व्यवसायीहरुले आफ्नो बानीमा पनि सुधार ल्याउनुपर्छ ।’

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले कोभिडले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई कम गर्न नगरपालिकाले सक्नेजति सुविधा दिएको बताउँछन् । ‘हामीले करमा २५ प्रतिशत छुट दिएका छौ, नगरपालिकाको सटर भाडामा लिएर व्यवसाय गरिरहेकालाई सटर भाडामा ४० प्रतिशत छुट दिएका छौ, खानेपानीमा ४० रुपैयाँ छुट दिएका छौ’, उनले अघि भने,‘हामी सकेको सहयोग गर्न तयार छौ, व्यवसायिलाई राहातको लागि संघीय सरकारको ढोका ढकढक्याउँदै छौ ।’ प्रमुख बस्नेतले घुम्ने बानीको विकास भए मात्रै पर्यट क्षेत्रको विकास हुने बताए । ‘ह्याबीट डेभलपको लागि अभियान चलाउनुपर्छ, बानीलाई संस्कारको रुपमा विकास गर्नुपर्छ’, उनले भने, ‘हामी व्यवसायीहरु कति यस्तो अभ्यास गर्छौ त त्यसले पनि पर्यटन विकासमा निर्भर गर्छ ।’ कार्यक्रममा सञिव पौडेलले कार्यक्रमको विषयबस्तुुमाथी कार्यपत्र प्रस्तुत गरेका थिए । भने महेन्द्र रत्न बहुमुखी क्याम्पसका प्राद्यापक राजेन्द्र बराल र यातायात व्यवसायी गृष्म सुब्बाले टिप्पणी गरेका थिए । इलाम नगरपालिका पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाको विभिन्न पर्यटकीय क्षेत्रका ब्यवसायी सहभागी थिए ।

पर्यटन दिवसको अवसरमा सोमबार इलाममा विभिन्न कार्यक्रम भएका छन् । बर्ड वाचिङ्ग, इलाममा पाइने चराहरुको बारेमा गरिएको अध्ययनको प्रस्तुतीकरण, सेतीदेवीको सरसफाई, होटलहरुमा पर्यटकहरुलाई स्वागत र विदाई, फोटो प्रदर्शनी, सवारी साधनमा स्टीकर टाँस लगायको कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार