इलाम । दशै, तिहार, छट लगायतका बजार नजिकिदै गएपछि बजारमा उपभोग्य सामानको मुल्य आकाशिएको छ । बजारमा खाद्यान्न, तरकारी फलफूल, लत्ताकपडाको मुल्य बढ्न थालेको छ । सवारी साधनले मनपरी भाडा लिने गरेको गुनासो सामाजिक सञ्जालमा बाक्लै भेछिन्छ । एउटै औषधिको मुल्य समेत फार्मेसी पिच्छे फरक हुने गरेको उपभोक्ता हक हित संरक्षण मञ्चकी उपाध्यक्ष दिपा आचार्यले बताइन् । ‘कतिपय औषधिको मूल्यमा त निकै ठूलो अन्तर पाइन्छ’, उनले भनिन्,‘सवारी साधनहरुले तोकिएको भन्दा दोब्बर बढी भाडा असुल गरेको गुनासो आउने गरेको छ, गाडीमा यात्रु खचाखच नै हुन्छन् सुुरक्षा मापदण्ड पालना छैन ।’
यसअघि बजारको नियमीत रुपमा अनुगमन गर्ने जिम्मा जिल्ला प्रशासन कार्यालयलाई थियो । स्थानीय तह कार्यान्वयनमा आएपछि स्थानीय तहलाई समेत बजार अनुगमनको अधिकार दिएको छ । अहिले बाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतका निकायलाई बजार अनुगमनको अधिकार छ । जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिलाई अनुगमनको अधिकार छ । अनुगमनको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई बजार निरीक्षण अधिकृतको रुपमा तोकिएको छ । तर, नियमित र प्रभावकारी रुपमा बजार अनुगमन भएको छैन । नियमित रुपमा बजार अनुगमन नहुँदा उपभोक्ता गठिनेक्रम बढेको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले गृह मन्त्रालयले अनुगमनको लागि समन्वय गर्न पत्रचार गरेकाले चाडै अनुगमन शुरु हुने बताए । ‘हामी चाडै इलामका बजारको अनुगमन शुरु गर्छौ,’ प्रजिअ खड्काले भने,‘उपभोक्ताको पक्षमा उदार र व्यवसायीको पक्षमा निर्मम भएर बजार अनुगमन गर्छौ ।’ प्रमुख जिल्ला अधिकारी खड्काले उपभोक्ता हक हित संरक्षण ऐन विपरित गर्नेलाई ठाउँको ठाउँ कार्वाही गर्ने बताए । जिल्ला स्थित विभिन्न सरोकारवाला निकाय र संस्थाको प्रतिनिधिले गर्ने अनुगमनमा विक्री गर्ने बस्तुको लेवल र मुल्य, मुल्य सूचि, नियमनकारी निकायमा हुने पर्ने दर्ता नविकरण, पान भ्याट दर्ता, भण्डारण लगायतका विषयमा अनुगमन गर्ने छ ।
यता बढी सवारी भाडा असुलेको विषयमा जनगुनासो आएपनि चेकजाँचको क्रममा भने यात्रु नै तिरेको भाडा भन्नै नचाहाने गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक किशोर तामाङ्ग बताउँछन् । ‘प्रहरीले चेकजाँच गर्दा यात्रुुले तिरको भाडा रकम खुलाउँदैनन, त्यसैले हामीलाई कार्वाही गर्न समस्या छ’, उनले थपे,‘बढि भाडा असुल्ने सवारी साधनको विषयमा जानकारी पाए कार्वाही गर्छौ ।’ प्रहरी निरीक्षक तामाङ्गले इलामको आठ स्थानमा नियमित सवारी चेक जाँच हुने गरेको बताए । पछिल्लो साता मात्रै यात्रुसंग बढि भाडा असुल्ने सातवटा सवारी कार्वाहीमा परेको उनले जानकारी दिए ।