इलाम । किवीबाट राम्रो आम्दानी गर्न थालेका इलामका किसानले यो वर्ष भने उत्पादन कम हुँदा ठूलो नोक्सानी व्यहोर्नु पर्ने भएको छ । गत वैशाखमा आएको अशिना पानीले फुल्दै गरेको किवीमा क्षति गरेपछि किसानले यो वर्षमात्र होइन आगामी दुई वर्षको क्षति व्यहोर्नु पर्ने अवस्था आएको कृषि प्राविधिक बताउँछन् ।
जिल्लाको अन्य क्षेत्रमा कम नोक्सान भएपनि सन्दकपुर गाउँपालिका क्षेत्रमा लगाइएको किवीमा क्षति धेरै भएको बताइएको छ ।
सुलुबुङ, तालगाउँ, माइमझुवा लगायतका क्षेत्रमा लगाइएको किवीमा गत वैशाखमा परेको अशिनाले यो वर्षको मात्र नभएर आगामी दुई वर्ष फल लाग्ने हाँगामा समेत क्षति पु¥याएपछि किसानले घाटा सहनु पर्ने अवस्था आएको हो ।
त्यस क्षेत्रमा लगाइएको किवीमा अशिनाले क्षति गरेपछि कृषि ज्ञान केन्द्र र जिल्ला विपद् व्यवस्थापन समितिले चार करोड ७८ लाख रुपियाँ बराबरको क्षति भएको प्रमाणित गरेर प्रदेश स्थित कृषि मन्त्रालयमा पठाएको छ । क्षति पुगेको किवी अबको दुई वर्ष फल दिन नसक्ने अवस्था अध्ययन गरेर राहातको लागि प्रमाणित गरेर मान्त्रालय पठाएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी वर्देवाले बताए । ‘मन्त्रालयबाट पनि राहातको त्यस्तो कार्यक्रम छैन भन्ने कुरा आयो । प्रदेशबाट केन्द्रमा पठाइएको जानकारी आएको छ ।’ वर्देवाले भने ‘जिल्लाका अन्य क्षेत्रमा अलि कम क्षति छ, सन्दकपुुर क्षेत्रमा भने फूल्न थालेको किवीलाई अशिनाले क्षति गर्दा ग्रीन किवीको त अझ ९० प्रतिशत उत्पादन घट्ने निश्चित छ ।’
त्यसोत यो सिजन ‘रेड किवी’ टिपाइको मुख्य सिजन पनि हो । रेड किवी पनि उत्पादन घटेपछि राम्रो मूल्य लिनबाट किसान बञ्चित भएका छन् । अन्न बाली तथा अरु खेती मासेर किवीमात्रै लगाएका तालगाउँका गोपाल खतिवडाको पनि उत्पादन कम छ । अरु किसानकै जस्तो अशिनाले हाँगा सहित किवीमा क्षति पु¥याएपछि खतिवडाको पनि अर्को वर्षको उत्पादन नहुने निश्चित जस्तै छ । ‘सबै आम्दानी किवी थियो, ९० प्रतिशत उत्पादन घट्ने भएपछि अब के गर्ने भन्ने चिन्ता थपिएको छ ।’ खतिवडाले भने ।
सुलुबुङका किसान तारामणि खतिवडा पनि यो वर्षको अशिनाको क्षतिले धेरै किसानहरुले आर्थिक क्षति व्यहोर्नु परेको बताउँछन् । किवीको उत्पादन राम्रो हुन थालेपछि सन्दकपुर गाउँपालिकाको अधिकांश क्षेत्रमा किसानले अन्य खेतीबाली मासेर किवी लगाएका थिए । ‘किवीको आम्दानी नभएपछि यहाँका किसानलाई निकै ठूलो समस्या छ । कतैबाट राहतको कार्यक्रम पनि छैन । बाली बिमाका लागि पनि यहाँ रहेको बिमा कम्पनीले बिमा गर्न मानेन ।’ खतिवडाले भने ‘अब किवी किसानले के गर्ने भन्ने अन्योल छ ।’
यता किसानले बाली बिमा नगर्दा पनि समस्या भएको ज्ञान केन्द्र प्रमुख वर्देवाको भनाइ छ । यहाँ रहेको बिमा कम्पनीमा बिमा गराउन धेरै झन्झटिलो भएकाले र किवीकै लागि बिमा नगर्ने हुँदा क्षतिबाट जोगिने वैकल्पिक उपाय किसानको नभएको वर्देवाले बताउँछन् । जिल्लाका सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, सूर्योदय, देउमाई नगरपालिकामा किवी खेती हुने गरेको छ । गतवर्ष साढे तीन लाख किलो किवी उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।