स्थानीय तहमा इजलासमा पुग्दैनन् धेरै मुद्दा


इलाम । इलामको माइ नगरपालिकाको न्यायीक समितिको इजलासबाट अघिल्लो वर्ष जम्मा एउटा विवाद निरोपण भयो । गाउँपालिकाले उपभोक्ता समिति मार्फत सम्पन्न गरेको योजनामा काम गर्ने मजदुरले पैसा नपाएपछि न्यायीक समितिमा मुद्दा पर्यो ।

पटक पटकको मेलमिलाप असफल भएपछि न्यायीक समितिले इजलासबाट विवाद निरोपण गरेको हो । न्यायीक समितिको फैसला उपर जिल्ला अदालतमा पुनरावेदन परेको थियो । जिल्ला अदालतले न्यायीक समितिको निर्णयनै सदर गरेको माई नगरपालिकाको न्यायीक समिति संयोजक विष्णुमाया रिमालले जानकारी दिइन् ।

गत आव २०७७।०७८ मा माई नगरपालिकाको न्यायीक समितिमा ३८ वटा मुद्दा दर्ता भयो । एउटा बाहेक अरु विवाद निरोपणको लागि न्यायीक समितिको इजलास बसेन । पालिकामा दर्ता भएको उजुरी मध्ये १८ वटा विवाद मेलमिलाप केन्द्रमा मिल्यो । नौवटा मुद्दा न्यायीक समितिमा मिलापत्र भयो भने १० प्रक्रियामा छन् । वडातहमा रहेको मेलमिलाप केन्द्रमा सुल्झिन नसकेको विवाद मात्रै न्यायीक समितिमा आउने गरेको छ । ति मध्ये इजलास राखेरै फैसला गर्नुपर्ने विवाद कम हुने गरेको न्यायीक समितिकी संयोजक रिमालले बताइन् । ‘शुरु शुरुमा न्यायीक समितिमा निकै धेरै उजुरी दर्ता हुन्यो, अहिले त्यो घटेको छ’, उपप्रमुख रिमालले भनिन्,‘धेरै विवाद वडामा रहेको मेलमिलाप केन्द्रमानै मिल्छ, त्यहाँ नभएको न्यायीक समितिको छलफलमा टुङ्गिन्छ, इजलासनै राख्नुपर्ने विवाद ज्यादै कम हुन्छ ।’ न्यायीक समितिको इजलासनै राख्नुपर्ने प्रकृतिका विवाद सोझै अदालत पुग्ने आचार्यको भनाई छ ।

न्यायीक समितिको इजलासमा अदालतमा जस्तो कानुन व्यवसायी अनिवार्य हुँदैनन । विवादति पक्षलाई पालैपालो कुरा राख्छन् । इजलासमा आफ्नो कुरा भन्न नसक्नेलाई भने छुट्टै राखेर पनि उसको कुरा सुन्ने गरेको उपप्रमुख आचार्यले बताइन् । ‘कसैले सवैका अघि आफ्नो कुरा भन्न सक्दैनन, उनीहरुलाई छुट्टै राखेर कुरा सुन्छौ’, आचार्यले भनिन्, निर्णय गर्दा पनि निष्पक्ष भएरै गर्ने प्रयत्न गर्छौ, कही चुकिएला कि भन्ने पीर हुन्छ नि ।’

इलाममा अलि बाक्लो इजलास बस्ने न्यायीक समिति मध्येमा चुलाचुली गाउँपालिकाको न्यायीक समिति पर्छ । गत आवमा चुलाचुली गाउँपालिकाले पाँच वटा मुद्दा न्यायीक समितिको इजलासबाट निरोपण गरेको छ । इजलासबाट टुङ्गो लगाइएको विवादमा धेरैजसो जग्गाको साँध सीमानाको विवाद रहेको न्यायीक समितिकी संयोजक निर्मला दाहालले जानकारी दिइन् । न्यायीक प्रक्रिया पुरा गरेरै इजलासबाट निर्णय लिने गरेको उनले बताइन् । ‘एउटै विवादको निरोपण गर्न ६ पटकसम्म समितिको इजलास बसेका छौ, कुनै कुनै एक दुई पटक इजलास बस्दा निर्णय हुन्छ’, न्यायीक समिति संयोजक दाहालले भनिन्,‘कतिपय धेरै पुरानो विवाद पनि निरोपण भएका छन् ।’ चुलाचुलीको न्यायीक समितिमा एक वर्षको अवधिमा ३४ वटा उजुरी दर्ता भएको थियो । त्यसमध्ये एउटा मात्रै विवाद मेलमिलाप केन्द्रमा टुङ्गिएको छ । पाँचवटा विवाद न्यायीक समितिमा मिलापत्र भएको छ । पाँचवटा प्रक्रियामा रहेको, तीनवटा विवाद जिल्ला अदालत पठाइएको गाउँपालिकाले जनाएको छ ।

इलामको सूर्योदय नगरपालिमा वितेको आर्थिक वर्षमा न्यायीक समितिको इजलास नै बसेन । गत आवमा नगरपालिकाको न्यायीक समितिमा ४५ वटा उजुरी दर्ता भएको थियो । त्यसमध्ये १७ विवाद मेलमिलाप केन्द्रमानै निरोपण भयो । १२ वटा कार्यान्वयनको चरणमा रहेको छन भने ११ वटा चालु आवमा जिम्मेवारी सरहेको छ । दुई वटा विवाद भने अदालत गएको नगरपालिकाका चुडामणी बरालले बताए । इलामका अन्य पालिकामा पनि धेरै विवाद इजसासबाट निरोपण भएको छैन । माइजोगमाई, माङसेबुङ्ग, फाफोकथुम गाउँपालिकामा वर्षभरी एउटा विवादपनि इजलाससम्म पुगेन । देउमाई नगरपालिकामा अंश सम्बन्धि दुईवटा विवाद इजसालबाट निर्णय गरिएको छ । त्यस्तै, इलाम नगरपालिकामा एउटा, रोङ गाउँपालिकामा एउटा, सन्दकपुर गाउँपालिकामा दुईवटा विवाद न्यायीक समितिको इजलासबाट टुङ्गो लगाइएको छ ।

न्यायीक समितिमा पर्ने विवाद समाधानको लागि मेलमिलाप केन्द्र तोकिएको छ । मेलमिलाप केन्द्रमा आउने विवाद मिलाउनको लागि मेलमिलाप कर्ताको सूचिकरण गरिएको छ । ति मेलमिलाप कर्ताले विवाद समाधानको लागि सघाउँछन् । मेलमिलाप केन्द्रमा भएको विवाद न्यायीक समितिले पनि मिलाउँछ । न्ययीक समितिमा पनि मेलापत्र हुन नसके इजलासबाट निर्णय गर्नुपर्छ । .न्यायीक समितिले गरेको निर्णयमाथी जिल्ला अदालतमा पुनरावेदन लाग्ने कानुनी व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार