कोरोनाको लागि इलामका स्थानीय तहले गरे चार करोड ९३ लाख खर्च

 
इलाम ।कोरोना माहामारीको बेला इलामका स्थानीय तहले कोभिड रोकथाम र व्यवस्थापनको लागि चार करोड ९३ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् । स्थानीय तहले गत आव २०७७।०७८ को एक वर्षको अवधिमा यति रकम खर्च गरेका हुन् ।

पालिकाहरुले कोभिड अस्पताल सञ्चालन व्यवस्थापन, औषधी खरिद, कोभिड परिक्षण, कर्मचारी व्यवस्थापन, क्वारेटाइन तथा आइसोलेसन व्यवस्थापनमा खर्च गरेका हुन् । इलामका केही पालिकाले कोरोना रोकथाम र व्यवस्थापनको लागि छुट्टै कोष खडा गरेका थिए भने केहीले पालिकाले पहिलेनै स्थापना गरेको कोषबाट खर्च गरेका थिए । कोरोना माहामारी नियन्त्रण र व्यवस्थापनको लागि संघीय सरकारले पालिकालाई बजेट उपलब्ध गराएको थियो । त्यसमा पालिकाहरुले सभाबाटै बजेट विनियोजन गरेका थिए । कतिपय स्थानीय तहले दाताहरुबाट समेत सहयोग जुटाएर माहामारी नियन्त्रण र व्यवस्थापनमा खर्च गरेका हुन् ।

इलामका दश पालिकाले कोरोना स्थापना गरेको कोषमा विभिन्न श्रोतबाट गरेर छ करोड ५९ लाख ३० हजार रुपैयाँ आम्दानी भएको थियो । त्यसमा चार करोड ९३ लाख ७० हजार रुपैयाँ खर्च गरेर बाँकी रहेको रकम गत आर्थिक वर्षको मसान्तमा मौजाद रहेको थियो । पालिकाहरुले चालु आर्थिक वर्षमा पनि कोभिड नियन्त्रण तथा व्यवस्थापनको लागि बनेको कोषमा बजेट विनियोजन गरेका छन् ।

कोरोना नियन्त्रण तथा व्यवस्थापनको लागि इलाम नगरपालिकाले एक वर्षमा ५९ लाख पाँच हजार छ सय रुपैयाँ आम्दानी गरेको थियो । सो मध्ये ५५ लाख ४४ हजार दुई सय रुपैयाँ असार मसान्तसम्ममा खर्च भएको थियो । त्यस्तै सूर्योदय नगरपालिकाले एक करोड १० लाख रुपैयाँ कोषमा रकम जोहो गरेको थियो । त्यस मध्ये ७९ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ । देउमाई नगरपालिकाले ४० लाख ६८ हजार चार सय रुपैयाँ कोषमा जम्मा गरेर कोभिडको लागि ३७ लाख ११ हजार छ सय रुपैयाँ खर्च गरेको छ । यता माई नगरपालिकाले ९९ लाख ९१ हजार आठ सय रुपैयाँ जम्मा गरेर ६८ लाख ८६ हजार रुपैयाँ कोभिडका लागि खर्च ग¥यो ।
चुलाचुली गाउँपालिकाले ४२ लाख २१ हजार छ सय रुपैयाँ जोहो गरेर ४१ लाख ६९ हजार आठ रुपैयाँ खर्च गरेको छ । माइजोगमाई गाउँपालिकाले ८१ लाख ८३ हजार रुपैयाँ कोषमा आम्दानी गरेर ५३ लाख ३७ हजार छ सय रुपैयाँ माहामारी नियन्त्रण र व्यवस्थापनमा खर्च गरेको छ । माङसेबुङ्ग गाउँपालिकाले एक वर्षको अवधिमा माहामारीको लागि ३३ लाख ५० हजार रुपैयाँ खर्चिएको छ । माङसेबुङ्गले कोभिड नियन्त्रण तथा व्यवस्थापनका लागि ५६ लाख ७६ हजार चार सय रुपैयाँ आम्दानी गरेको थियो । रोङ गाउँपालिकाले ५९ लाख ३२ हजार रुपैयाँ व्यवस्थापन गरेर ५९ लाख रुपैयाँ खर्च गरेको छ । सन्दकपुर गाउँपालिकाले ५४ लाख ६१ हजार आठ सय रुपैयाँ जम्मा पारेर २८ लाख २७ हजार एक सय रुपैयाँ खर्च गरेको छ । फाकफोकथुम गाउँपालिकाले कोभिड नियन्त्रण तथा व्यवस्थापनको लागि ५५ लाख रुपैयाँ आम्दानी गरेर १४ लाख ९३ हजार दुई सय रुपैयाँ खर्च भएको तथ्याङ्क छ ।
कोरोना विरुद्ध खोप लगाउनेको संख्या बढ्दै गएपछि इलाममा क्रमश संक्रमितको संख्या समेत घटन थालेको छ । जिल्लामा अहिले दुई सय १६ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये तीन जना आइसियुमा उपचारत छन् भने बाँकी होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । कोरोना संक्रमणको कारण जिल्लाका एक सय २८ जनाले ज्यान गुमाउने परेको छ । सवैभन्दा धेरै इलाम नगरपालिका क्षेत्रका ३६ जना, सूर्योदय नगरपालिका क्षेत्रका सूर्योदय नगरपालिका क्षेत्रका ३२ जना, चुलाचुलीका २३ जनाले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार