चिया संकलन केन्द्रबाट भारतीय र कम तौल भएका ढक जफत


इलाम । इलामको सूर्योदय नगरपालिकाको चिया संकलन केन्द्रबाट भारतीय फलामको ढक सहित कम तौल भएको भएको ढक जफत गरिएको छ । जिल्ला स्थित संयुक्त अनुगमन टोलीले चिया संकलन केन्द्रबाट ढक जफत गरेको हो ।

सूर्योदग नगरपालिका ८ मा रहेको विनोद स्टोर्सबाट तीनवटा भारतीय ढक, तौल कम भएको १० केजीको एउटा, फुटेको एक केजिको एउटा ढक जफत गरेको हो । नेपालमा भारतीय ढक प्रयोग गर्न नपाइने भएकाले भारतीय ढक जफत गरिएको र कम तौल भएका ढक प्रयोग गर्न नपाइने भएकाले फलामको ढक जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले जानकारी दिए । ‘चिया संकलन केन्द्रमा भेटिएको कम तौलको ढकले किसान ठगिएका छैनन, बरु उल्टै व्यवसायीलाई नोक्सानी भएको देखियो’, सहायक प्रमुख जिल्ला अधिकारीले भने,‘चिया खोज्ने ढकनै कम तौलको भएपछि उसले जति चिया किसानसंग किनेर उद्योगलाई बेच्यो त्यो किनेको भन्दा कम तौलको हुन्छ ।’ तर, मापदण्ड बिपरितको ढक प्रयोग गर्न नपाइने भएकाले बरामद गरिएको उनले बताए ।

अनुगमन टोलीले सूर्योदय नगर क्षेत्रमा हरियो पत्ति संकलन गर्दै आएका चार वटा चिया संकलन केन्द्रको ढक तराजु जाँच गरिएको हो । अन्य संकलन केन्द्रमा प्रयोग भएका डिजिटल तराजुमा भने समस्या भेटिएन । तर, कतिपयले अनुमति नलिइ तराजु सञ्चालन गर्दै आएको पाइएको छ । उनीहरुलाई एक सता भित्रमा नाप तौल कार्यालयमा तराजु दर्ता गराउन निर्देशन दिइएको छ ।

व्यावसायिक रुपमा प्रयोग हुने तराजु नाप तौल कार्यालयमा दर्ता गराएर सञ्चालनको लागि अनुमति लिनुपर्ने व्यवस्था छ । अनुगमन टोली फिक्कल बजारमा रहेको खाद्य पसलहरुमा समेत अनुगमन गरेको छ । अनुगमनको क्रममा बस्तुको भ्याट मुल्य कम देखाउने उत्साह किराना पसललाई दश हजार रुपैयाँ जरिवाना गराइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार