गर्भवतीका लागि भिडियो एक्सरे विस्तार गर्दै पालिकाहरु


इलाम । चाहिएको बेला फोन समेत सम्पर्क हुन सक्दैन, एम्बुलेन्स र अन्य सवारी सहज पुग्छन् भन्ने त कल्पना पनि हुँदैन । विषेश गरि गर्भवती महिलाहरुले आफ्नो गर्भको जााच गराउन झेल्दै आएको समस्यालाई रोङ गाउँपालिकाले भिडियो एक्सरे सेवा विस्तार गरेर केही सहज बनाउन थालेको छ ।
यसअघि गर्भवती भएको विभिन्न समयमा आमा र गर्भको बच्चाको स्वास्थ्य अवस्था जान्न गर्नै पर्ने भिडियो एक्सरेबाट रोङका धेरै महिलाहरु बञ्चित हुने गरेका थिए । गाउँपालिकाले आफ्ना विभिन्न स्वास्थ्य संस्था र गाउँघर क्लिनिकबाट ग्रामीण अल्ट्रासाउण्ड सेवा शुरु गरेको छ ।
‘यहाँका सबै महिलाहरु गर्भ जाँच गराउन झापानै जानु पर्ने बाध्यताले कतिपय महिलाहरु खर्च अभावलेनै जान सकिरहेका थिएनन् । जस्का कारण आमा र शिशुको स्वास्थ्य अवस्था जोखिममा थियो ।’ गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले भनिन् ‘बाल मृत्युदर घटाउन र नवजात शिशु तथा गर्भवती आमाको स्वास्थ्य प्रति सचेत बन्न गाउँ–गाउँमा भिडियो एक्सरे सेवा शुरु गरिएको छ ।’ यो सेवालाई गाउँपालिकाले सेवा प्रवाहको तालिकानै तयार गरेर लक्षित महिलाहरु समक्ष पु¥याउने भएको छ ।
सेवाग्राहीको संख्या हेरेर बढी भएका वडामा महिनाको दुई दिन र सेवाग्राही कम भएका वडाहरुमा महिनाको एक दिन भिडियो एक्सरे सेवा शुरु गरिएको जनाइएको छ । सबै वडाहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मी मनमाया लेप्चाले सेवा दिइरहेकी छन् । सेवा प्रवाह हुने कार्यतालिका अनुसार शान्तिपुर स्वास्थ्य चौकीमा प्रत्येक महिनाको ३ गते १ दिन, धनसार आधारभूत स्वास्थ्य केन्द्रमा प्रत्येक महिनाको ५ गते १ दिन, वर्फल्याङ सामुदायिक इकाइमा प्रत्येक महिनाको ७ गते १ दिन, कोल्बुङ स्वास्थ्य चौकीमा प्रत्येक महिनाको १० र ११ गते, भालुझोडा आधारभूत स्वास्थ्य केन्द्रमा प्रत्येक महिनाको १३ गते १ दिन, इरौंटार स्वास्थ्य चौकीमा प्रत्येक महिनाको १४ र १५ गते २ दिन, जिर्मले स्वास्थ्य चौकीमा प्रत्येक महिनाको १८ र १९ गते २ दिन, सलकपुर सामुदायिक इकाइमा प्रत्येक महिनाको २० गते १ दिन सेवा प्रदान गरिने पालिका स्थित स्वास्थ्य शाखाले जनाएको छ । यसरी सबै वडाहरुमा भिडियो एक्सरे सेवा पु¥याउँदा सबै वडाका महिलाहरुको सेवामा पहँुच पुग्ने लक्ष्य राखिएको पालिका उपाध्यक्ष राई बताउँछिन् ।
यता गत पुस महिना देखि इलाम नगरपालिकाले नगरका १२ वटै वडामा गर्भवती महिलाका लागि सञ्चालन गरेको भिडियो एक्सरे सेवाबाट गएको असार मसान्त सम्ममा २९० जना महिलाले सेवा लिएका छन् । नगरपालिकाले गर्भवती महिलाहरुलाई लक्षित गर्दै शुरु गरेको निःशुल्क एम्बुलेन्स सेवाबाट पनि ३९ जना महिलाले सेवा लिएको नगरपालिका स्थित स्वास्थ्य शाखाले जनाएको छ । गत फागुन महिना देखि शुरु भएको एम्बुलेन्स सेवाले सुत्केरी गराउन स्वास्थ्य संस्था पु¥याउन महिलाहरुलाई निःशुल्क सेवा दिंदै आएको छ ।
गएको साउन र भदौ महिना कोभिड– खोपका कारण रोकिएको भिडियो एक्सरे सेवा पुनः भोलि अर्थात मंगलबार देखि वडा नम्बर १ साँखेजुङबाट शुरु गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख रमन्ता पौड्यालले जानकारी दिएकी छन् । ‘यो सेवा त महिलाहरुका लागि अत्यत्नै राम्रो भएको छ । अझ कोभिड संक्रमणका समयमा सदरमुकाम आउनै पर्ने बाध्यतालाई वडा–वडामा लगिएको यो सेवाले गर्भवती महिलालाई ठूलो राहत मिलेको पाइएको छ ।’ पौड्यालले भनिन् ‘खर्च नभएर, सदरमुकाम आउन जान टाढा भएर भिडियो एक्सरे गराउनबाट बञ्चित भएका महिलाहरुलाई त ठूलो सहयोग मिलेको पाइएको छ । अब यो सेवा पुनः भोलि देखि निरन्तर हुनेछ ।’
भिडियो एक्सरे तथा स्वास्थ्य जाँचमा संलग्न स्वास्थ्यकर्मी सुनिता बस्नेतले भिडियो एक्सरे गराउन भेला भएका महिलाहरुले टाढा जानु नपर्दा उनीहरु धेरै खुशी भएको बताएकी छन् । ‘अस्पतालमा कतिपय महिलाहरुले आफ्नो समस्या भन्नै लाज मान्छन्, यहाँ त्यस्तो भएन, आफूलाई परेको समस्या सजिलै राखे र गर्भको अवस्था कस्तो छ भनेर सजिलै जानकारी लिन सके ।’ बस्नेतले भनिन् ।
फोटो ः रोङ गाउँपालिकामा शुरु भएको भिडियो एक्सरे सेवा प्रदान गर्दै स्वास्थ्यकर्मी मनमाया लेप्चा ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार