इलाम । सन २०१५ बाट अपाङ्गता रोकथाम र पुनरस्थापनाको इलाममा करुणा फाउण्डेशले हेरचाहको लागि उत्प्रेरण कार्यक्रम शुरु गर्यो । कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक रुपमा सवल बनाउन उनीहरुकै समुह गठन गरेर बीऊ पुँजी उपलब्ध गराइएको थियो । बीऊ पुजीबाट सानो तिनो ब्यवसाय गर्न चाहाने अपाङ्गता भएकालाई ऋणमा दिइन्थ्यो । उनीहरु आवश्यकता अनुसार पालैपाले रकम चलाउथे र आफ्नो गर्जो टार्थो । बीऊ पुँजी पाएपछि समुहमा आवद्ध अपाङ्गता भएकाहरु त्यसलाई बृद्धि गर्न थाले । कसैले नियमीत रुपमा बचत गरेर रकम बढाएका छन्, कतिले सहयोग जुटाएर । अहिले त्यो रकम झण्डै दोब्बरले बढेको छ ।
करुणा फाउण्डेशले एक लाख ५० हजार र एक लाखका दरले स्ववालम्बन समुहलाई बीउ पुजी दिएको थियो । स्थानीय तहको संरचना बन्नु अघिनै गठन भएका गाविस स्तरका स्ववालम्बन समुहले एक लाख ५० हजारका दरले प्राप्त गरेका थिए । राज्य पुनरसंचना पछि भने वडा तहमा बनेको स्ववालम्बन समुहलाई एक लाख रुपैयाँका दरले बीउ पुँजी उपलब्ध गराइएको थियो । जिल्लाभर रहेका ८१ वटा स्ववालम्बन समुहलाई करुणा फाउण्डेशले बीउ पुजी स्वरुप ८५ लाख ५० हजार रुपैयाँ लगानी गरेको थियो ।
अहिले जिल्लाभर रहेको अपाङ्गता स्ववालम्बन समुहसंग एक करोड ५० लाख रुपैयाँ छ । स्ववालम्बन समुहमा आवद्ध सदस्यबाट ३० लाख रुपैयाँ हाराहारी बचत भएको करुणा फाण्डेशनका व्यवस्थापक अजित योञ्जनले बताए । समुहका सदस्यलाई व्यवसाय गर्नको लागि गरिएको ऋण लगानीबाट १५ लाख हाराहारी ब्याज संकलन भएको छ । कतिपय पालिकाले भने अपाङ्गता स्ववालम्बन समुहलाई आर्थिक रुपमा मजबुत बनाउनको लागि बीऊ पुुँजीमा थप रकम दिने गरेको योञ्जनले बताए ।
इलाममा ८१ वटा स्ववालम्बन समुह छन् । ती समुहमा चार हजार तीन सय बढि अपाङ्गता भएका व्यक्तिहरु आवद्ध छन् । स्ववालम्बन समुह मार्फत नियमीत रुपमा बचत गर्ने, ऋण लगानी गर्ने गरिदै अएको छ । स्ववालम्बन समुहको कोष बढ्दै गएपछि समुहलाई सहकारीमा रुपान्तरण गर्ने प्रक्रिया शुरु भएको छ । पालिका स्तरमा अपाङ्गता भएकाहरुको सहकारी गठन थालिएको हो । देउमाइ नगरपालिका र इलाम नगरपालिका सहकारी गठन भइसकेको करुणा फाण्डेशनका छवि खतिवडाले बताए । ‘बाँकी रहेको आठवटा पालिकामा यही वर्ष सहकारी गठन गर्ने योजनामा छौ’, खतिवडाले भने, ‘इलाममा करुणाले यही वर्ष मात्रै काम गर्ने भएकाले फेजआउट हुनअघि सहकारी गठन भइसक्छ ।’
स्ववालम्बन समुहलाई बीउ पुँजीको रुपमा उपलब्ध गराइएको रकम बढ्दै गएकाले त्यसलाई कानुनी मान्यता दिनकै लागि स्ववालम्बन समुहलाई सहकारीमा रुपान्तरण गर्न थालिएको करुणा फाउण्डेशनका ब्यवस्थापनक अजित योञ्जनले बताए । ‘सधै समुह मार्फतनै बचत संकलन गर्ने, ऋण लगानी गर्न कानुनी बाधाहरु आउन सक्छ’, उनले अघि थपे,‘सहकारी मार्फत गरियो भने, त्यसलाई दीर्घकालिन र प्रभावकारी हुन्छ ।’