इलाम । गत १४ असोजको राती नौ बजेतिर माइखोलामा चारवटा चाली बनाएर बगाउँदै लगेको २२ वटा सालको फेण्टा सशस्त्र वन रक्षकको टोलीले पक्राउ गर्यो । खोला सालको काठ बगाउँदै ल्याउने काठ तस्करको समुुह खोला पारि चार जनाको संख्यामा रहेका सशस्त्र वन रक्षक माइखोला वारी परे ।
काठ नियन्त्रणमा लिएपछि वन रक्षकले तस्करलाई पक्राउ गर्न खोला तर्न खोज्यो । खोला पारि चार।पाँच जनाको समुहमा रहेको तस्करहरुले सशस्त्र वन रक्षकमाथी ढुङ्गा बर्षाउन थाले । तस्करहरुले ढुङ्गा हान्न थालेपछि सशस्त्र वन रक्षकले दुई राउण्ड हवाई फायर गर्यो । वन रक्षकले हवाई फायर गरेपछि तस्करहरु तितरवितर भएर भागे । तस्कर भागेपछि उनीहरुलाई पक्राउ गर्ने सशस्त्र वन रक्षकको प्रयास सफल भएन ।
काठ नियन्त्रणमा लिएपछि सशस्त्र वन रक्षकको टोलीले रातभर आसपासको क्षेत्रमा गस्ती गरिरह्यो । राती साढे तीन वजेतिर फेरी चारवटा चालीमा काठ बगाउँदै गरेको फेला पर्यो । चारवटा छालीमा बगाउँदै ल्याइएको २४ वटा सालको फेण्टा वन रक्षकको टोलीले नियन्त्रणमा लिए । तरस्करहरु फेरी खोलापारि भाग्न सफल भए ।
बर्षाको बेला तस्करहरुले माईखोलमा बगाएर काठ तस्करी गर्ने गरेका छन् । सालको काठकै चाली बनाएका हुन्छन् । त्यसलाई ट्याक्टरको ट्युबहरुमा बानेर खोलामा बगाउँछन् । चालीमाथी पनि काठको फेन्टा राखेर तस्करी गर्ने गरेका छन् । हावाले भरिएको ट्युबहरुमाथी चाली बनाएपछि चाली खोलामा डुब्दैन, त्यसले थेग्नसक्ने जति भार बोकाएर काठको तस्करी हुने गरेका छ ।
तस्करीको क्रममा सुरक्षाकर्मी या वनका कर्मचारीले भेटेभने उनीहरु खोलामै काठ डुबाएर भाग्छन् । ‘ट्युबको हावा खुुस्काएपछि काठ खोलामा डुब्छ, अनि त्यसमा संलग्नहरु भाग्ने गरेका छन’, डिभिजन वन कार्यालय इलामका प्रमु्ख इन्द्रमणी भण्डारीले भने,‘त्यसैले हामी काठ तस्करी गर्नेलाई समात्न गाह्रो हुन्छ ।’
इलामको चुरे क्षेत्रभएर बग्ने माईखोलमा बर्षाको बेला बगाएर काठको तस्करी हुने गरेको छ । तर, खोलामा बाढि आएको बेला छाली बनाएर काठ तस्करी गर्न सम्भव हुँदैन । खोलामा बाढि नआएको बेला र पानीको सतह कम नभएको अवस्थामा बगाएर काठ तस्करीको जोखिम हुने डिभिजन वन अधिकृत भण्डारीले बताए । ‘भदौ अन्तिमदेखि कात्तिकसम्म बगाएर काठ तस्करी हुने जोखिम हुन्छ’, उनले भने, ‘यो बेलामा हामी नियमीत रुपमा निगरानी गरिरहेका हुन्छौ, तस्करीको प्रयास भएपनि सफल हुँदैनन् ।’
मंगलबार मात्रै सूर्योदय नगरपालिका स्थित तीनघरेबाट गाडीमा सालको काठ लैजाँदै गरेका एक जना पक्राउ परे । फिदिम नगरपालिका ९ का केशव प्रसाद ढुङ्गनालाई तीनघरे प्रहरी चौकीको टोलीले ६३ थान चिरान काठ सहित पक्राउ गरेको हो । मे१च ६२४७ नम्बरको पिकअप सहित पक्राउ गरेका ढुङ्गनालाई काठ र पीकअप सहित प्रहरीले सव डिभिजन कार्यालय माईमा बुझाएको छ । यसअघि १२ भदौको राती ११ बजेतिर रोङ गाउँपालिका १ को भाटेखोला भन्ने ठाउँमा समेत पीकअप गाडीमा २३ थान चिरान काठ बरामद भएको थियो । सशस्त्र वन रक्षक र प्रहरीको संयुक्त गस्ती टोलीले स १ च १०६३ नम्बरको पीकअपमा काठ बरामद गरेको हो । गस्तीको सुइको पाएपछि तस्करहरु भने गाडी छाडेर भागको वनका कर्मचारी बताउँछन् ।
इलाममा साउन यता काठ तस्करीका क्रममा पक्राउ परेका नौ जना विरुद्ध मुद्धा दर्ता भइसकेको जिल्ला वन कार्यालय इलामले जानकारी दिएको छ । पाँचवटा तस्करीको घटनामा पक्राउ परेका उनीहरु बिरुद्ध अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको हो ।
गत साउनमा चार थान सालको चिरान काठ सहित पक्राउ परेका तीन जना विरुद्ध मुद्धा चलाइएको छ । झापाको शिवसताक्षि नगरपालिका १० का विवेक राई, माई नगरपालिका ८ का अनिस लिम्बु र दिपक लिम्बु बिरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । त्यस्तै को१ख १९९६ नम्बरको बसमा १५ थान काठसहित पक्राउ परेका माई नगरपालिका डिक बहादुर तामाङ्ग विरुद्धपनि मुद्दा दर्ता भएको डिभिजन वन कार्यालय इलामले जानकारी दिएको छ ।
यस्तै गत भदौमा साइकलमा ६ थान काठ ओसार्दै गरेका उदयपुर बसाह गाउँपालिका ८ का गोविन्द्र राई र शिवसताक्षी ७ का सुरज माझीलाई पनि वन रक्षकको समुहले नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अघि बढाएको छ । विना इजाजत सालको काठ ओसार पसारको आरोपमा पक्राउ परेका माई नगरपालिका ८ का चुकमान कुमाल र हस्तबहादुर कुमाल बिरुद्धपनि अदालतमा मुद्दा चलाइएको छ । इलामको रोङ गाउँपालिका एक थान सालको ठुटा, एउटा गोलिया, २३ थान चिरान काठ र काठ चिरान गर्ने आरा, गिडुवा समेत पक्राउ परेका बुद्धशान्ति गाउँपालिका तोयानाथ विश्वकर्मा विरुद्ध पनि वन कार्यालयमा मुद्धा दर्ता गरिएको सहायक वन अधिकृत सञ्जिव कुमार ढकाल बताउँछन् ।
वन कर्मचारीको सक्रियता बढेकाले काठ बरामद र पक्राउ पर्नेको संख्या बढेको सहायक वन अधिकृत याम बहादुर रुम्बाले बताए । ‘काठ तस्करी विगतमा भन्दा कम भएको छ’उनले भने,‘तस्करीको सूचना आउने र वन कर्मचारीको सक्रियताले तस्करी हुन लागेको काठ र पक्राउ पर्नेको संख्या बढेको हुनसक्छ ।’