अपाङ्गता भएका व्यक्ति मध्ये सात प्रतिशतको परिचयपत्र छैन


इलाम । इलाममा अपाङ्गता भएका व्यक्ति मध्ये अझै सात प्रतिशतको अपाङ्गता सम्बन्धी परिचयपत्र नभएको पाइएको छ । अपाङ्गता क्षेत्रमा कृयाशिल करुणा फाउण्डेशले सार्वजनिक गरेको तथ्याकंमा विभिन्न कारणले अपाङ्गता भएका अझै सात प्रतिशत व्यक्तिहरु परिचय पत्र पाउनबाट छुटेका छन् ।
तथ्याकं अनुसार इलाममा ४ हजार ३३९ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । तीमध्ये १ हजार ७६९ जना महिला र २ हजार ५७० जना पुरुष अपाङ्गता भएका व्यक्ति रहेका छन् । फाउण्डेशनको तथ्याकं अनुसार सबै भन्दा बढी सूर्योदय नगरपालिकामा ७१८, इलाम नगरपालिकामा ६७७, देउमाइमा ५४७, माई नगरपालिकामा ४९१, चुलाचुलीमा ४०८, माइजोगमाईमा ३५४, फाकफोकथुममा ३६०, रोङमा ३३१, माङ्सेबुङमा २५६ र सन्दकपुर गाउँपालिकामा १९७ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । यी मध्ये सबैभन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्तिको संख्या छ । कतिपय व्यक्तिहरु कान पनि सनुन्ने र आँखा पनि नदेख्ने किसिमको ज्यादै अप्ठ्यारो अवस्थाको अपाङ्गता भएको पाइएको फाण्डेशन इलामका प्रमुख अजित योञ्जनले बताए । ‘यस्तो अवस्थाका व्यक्तिहरुको भने जिवनलाई सहज बनाउन निकै कठिन परेको छ ।’ योञ्जनले भने ‘अपाङ्गता परिचयपत्र लिएका धेरै व्यक्तिहरुले कुनै न कुनै रप्बाट राज्यबाट सुविधा पाएका छन्, तर परिचय पत्र बनाउनै नसकिएका व्यक्ति भने सुविधाबाट बञ्चित भएको निश्चित छ ।’ धेरै वृद्ध भएका कारण, परिवारले परिचय पत्र बनाइ दिनै नचाहेको लगायतका कारणले बाँकी ७ प्रतिशत परिचयपत्र पाउनबाट बञ्चित रहेको योञ्जन बताउँछन् ।
सन् २०१४ देखि अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गरिरहेको फाउण्डेशनले यो वर्ष इलाममा आफ्नो कार्यक्रमको अन्तिम वर्ष रहेको पनि जनाएको छ । अपाङ्गता भएका व्यक्तिलाई विभिन्न क्षेत्रमा व्यवसायिक बनाउने, उनीहरुको सहज जीवन यापनका लागि सहयोग सामग्री उपलब्ध गराउने, आर्थिक समृद्धिका लागि समुह, सहकारी स्थापना गरि बचत संकलन तथा ऋण लगानीमा सहयोग, अपाङ्गता रोकथाम पुर्नस्थापना कार्यक्रम मार्फत जिल्लाका दशवटै पालिकामा काम गरिरहेको फाउण्डेशनले स्थानीय सरकारहरुलाई आफ्ना सबै कामहरु हस्तान्तरण गरिहेको जनाएको छ ।
गतवर्ष स्थानीय तह र प्रदेश सरकार र फाउण्डेशनको गरि ३ करोड २९ लाख ९८ हजार ३२९ रुपैयाँ बजेट रहेको पुर्नस्थापना कार्यक्रममा २ करोड २७ लाख खर्च भएको जनाइएको छ । अपाङ्गता क्षेत्रका लागि आगामी वर्षमा स्थानीय तहहरुले कूल २ करोड १२ लाख ८ हजार ७ सय रुपैयाँ छुट्याएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार