इलाम । कोभिड संक्रमणको दर न्युन हुँदै जाँदा र दशैं नजिकिंदै गर्दा इलामका होटल व्यवसायलाई राहत मिल्न थालेको छ । पछिल्लो समय इलाम आउनु आन्तरिक पर्यटकहरुको संख्या केही बढ्न थालेपछि व्यवसायमा केही आशा पलाएको होटल व्यवसायी बताउँछन् ।
नेपाल सरकारले गएको सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने कार्यक्रम तय गरेसंगै इलाममा थपिएका होटल व्यवसाय वर्षको बीचैमा कोभिडका कारण बन्द हुँदा करोडौं रुपैयाँ नोक्सान भएको थियो ।
होटल व्यवसाय सञ्चालन तथा पर्यटन प्रर्वद्धन गर्नै उद्देश्यले भ्रमण वर्ष लक्षित गर्दै जिल्लामा एक करोड देखि १३ करोड रुपैयाँ सम्म खर्चेर होटलहरु शुरु भएको थिए । ‘इलामलाई बाहिरबाट हेर्ने दृष्टि कोण निकै राम्रो थियो, अझ यहाँ भित्रने पर्यटकहरुलाई सुविधा सम्पन्न होटलमा स्वागत गर्न नीजि क्षेत्र पनि जागरुक थियो ।’ होटल एशोसिएसन इलामका अध्यक्ष देवी पौड्याल भन्छन् ‘कोभिडका समयमा होटलहरु बन्द गर्नुपर्दा ठूला–साना सबै होटलले दैनिक ७२ लाख रुपैयाँ क्षति व्यहोर्नु परेको थियो ।’
तर, कोभिडका कारण बन्दाबन्दीको अवस्था आएपछि धरासी बनेका होटलहरुलाई यो वर्षको दशैं नजिकिंदै गर्दा केही सहज हुन थालेको सदरमुकाम स्थित ग्रीन सिटी होटलक सञ्चालक शारदा पराजुलीले बताएकी छन् । ‘गत वर्ष र यो वर्ष कोभिडका कारण पाँच–पाँच गरि दश महिना त होटल बन्दनै गर्नुप¥यो ।’ पराजुलीले भनिन् ‘दश महिना बन्द हुँदा होटललाई त्यही अवस्थामा टिकाउन व्यवसायीहरुलाई धेरै समस्या भयो, अब केही सहज भएको छ ।’
पर्यटन वर्षलाई नै लक्षित गर्दै मासिक ४० हजार रुपैयाँ भाडा तिरेर सञ्चालन गरेको होटललाई बीचमै बन्द गर्नुपर्दा इलाम सदरमुकाम स्थित भ्युटावर सञ्चालक बुद्धमाया सोङ्मीले पनि निकै घाटा सहनु प¥यो । भ्युटावर पुग्ने पर्यटकहरुलाई सहज बसाइका लागि शुरु गरेको होटल बल्ल केही सहज ढंगले चल्न थालेको सोङ्गमी बताउँछिन् । सदरमुकामका अधिकांश ठूला होटलहरुमा दैनिक १५ जना सम्म पाहुना आएर बस्ने गरेका छन् । आउँदो दशैंै सम्मनै होटलहरु बुकिङ भइरहेको ग्रीन भ्यु होटलका व्यवस्थापक डम्बर सापकोटा बताउँछन् ।
सदरमुकाम सहित अन्तु, कन्याम, सन्दकपुरलगायतका पर्यटकीय स्थलहरुमा रहेका होटल, कटेज र होम स्टेहरुमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढेको होटल एशोसिएशन इलामले जनाएको छ । इलाम हुँदै ताप्लेजुङ्गको पाथीभरा मन्दिर दर्शन गर्न जाने भक्तजनका कारण पनि इलाममा पर्यटकको बसाइ राम्रो हुने गरेको बताइएको छ ।
जिल्लामा ठूला होटलहरु ६०, मझौला होटल दुई सय र साना होटल १९० वटा रहेको एशोसिएनको तथ्याकं छ । यी होटलहरुमा दैनिक ७२ लाख रुपियाँ बढीको कारोबार हुने गरेको जनाइएको छ ।
उता इलाम भित्रने पर्यटकहरुले निकै रुचाउने पर्यटकीय क्षेत्र अन्तुमा पनि पर्यटकको चहलपहल बाक्लिएको छ । दैनिक दुई सय बढी पर्यटक अन्तु पुग्ने गरेका छन् । विदाको दिन तथा सुक्रबार, शनिबार भने दैनिक आठ सय पर्यटक अन्तु आउन थालेको स्थानीय पर्यटन व्यवसायी रुद्र घिमिरेले बताए । सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध अन्तुमा आउँदो दशैं सम्मनै होटल, कटेज र होम स्टेहरु बुकिङ हुन थालेको जनाइएको छ ।