आधारभूत स्वास्थ्य जाँचबाटै कैदीबन्दी बञ्चित

  आवाज सम्वाददाता

इलाम । सुधार गृहका रुपमा सञ्चालन ल्याइएको इलाम कारागारमा अहिले कैदीबन्दीले स्वास्थ्य उपचारमा समस्या झेल्नु परेको गुनासो गरेका छन् । कारागारमा एक जना अहेवको दरबन्दी दुईवर्ष यता रिक्त छ ।
लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा सामान्य ज्वरो आएमा अथवा ‘ब्लडप्रेसर’ जाँच गर्नु परेमा इलाम अस्पतालनै पठाउनु पर्ने बाध्यता छ । कारागारमा अहिले त मानसिक सम्बन्धी समस्या रहेका केही कैदी बन्दी पनि छन् । उनीहरुलाई अस्पताल पठाउनु पर्ने समस्या अर्को छ । ‘यहाँ रहेका स्वास्थ्यकर्मी सरुवा भएपछि हामीले सम्बन्धित निकायमा पटक–पटक स्वास्थ्यकर्मी माग ग¥र्यौं, दुई वर्ष भयो हाम्रो माग कतैबाट सुनुवाइ भएन ।’ कारागार प्रमुख प्रदिप श्रेष्ठले भने ‘स्वास्थ्यकर्मी नहुँदाको मात्र समस्या होइन, विरामी कैदीबन्दीलाई अस्पताल पठाउन हामी सँग सवारी साधनको पनि व्यवस्था छैन । दिउसो राती जुनसुकै समयमा भाडाको सवारी बोलाउँदा अर्को समस्या छ ।’ स्वास्थ्यकर्मी नहुँदा र सवारी साधन पनि नहुँदा कैदीबन्दी पटक–पटक स्वास्थ्य उपचारको अधिकारबाट पनि बञ्चित हुनुपरेको श्रेष्ठको बुझाइ छ । ‘समय पहिला जस्तो छैन, कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा कैदीबन्दीलाई अस्पताल ल्याउन समस्या भएको छ ।’ श्रेष्ठले भने ‘सामान्य ज्वरो, उच्च रक्तचाप, सामान्य रुघाखोकी जस्ता विरामीलाई चेकजाँच गर्न पनि अस्पतालनै ल्याउनु पर्ने बाध्यता छ ।’ श्रेष्ठका अनुसार कम्तिमा दुई–दुई दिनको फरकमा कैदीबन्दीलाई अस्पताल ल्याइने गरेको छ ।
कारागारमा कैदीबन्दीलाई उपचारका निम्ति यातायात खर्चको छुट्टै खर्च व्यवस्था छैन । त्यसोत कारागारमा केन्द्रबाट पाँच वर्ष अघि पठाइएको एउटा र दुईवर्ष अघि पठाइएको अर्को गरि दुईवटा सवारी साधन थन्किएका छन् । केन्द्रबाट थोत्रै अवस्थामा आएका ती दुवै सवारी मर्मत गर्न पनि खर्चले नधान्ने भएपछि थन्क्याइएको प्रमुख श्रेष्ठले जानकारी दिए । युनिटी अस्पतालको लागि आएको नयाँ एम्बुलेन्स पनि कारागारकै आँगनमा राखिएको छ । तर, काम लाग्ने सवारी नहुँदा एक जना विरामीलाई अस्पताल पुर्याउन ६ सय रुपैयाँ यातायात खर्च हुने गरेको बताइएको छ ।
१ सय २५ जनाको क्षमता रहेको कारागारमा अहिले २१ महिला सहित २ सय ७७ जना कैैदीबन्दी रहेका छन् । यता महिला कैदीबन्दीले आफूलाई कारागार व्यवस्थापनले स्यानिटरी प्याड उपलब्ध नगराउँदा महिनावारीका समयमा समस्या झेल्नु परेको बताएका छन् । महिलामध्ये अधिकांशले आँफैले स्यानिटरी प्याड किन्न नसक्दा महिनावारीमा समयमा स्वास्थ्य समस्या झेल्नु परेको कैदीबन्दी पुजा श्रेष्ठले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार