बाढी पहिराेले इलाममा १३ को मृत्यु, २ बेपत्ता

  आवाज सम्वाददाता


इलाम । सोमबार साँझदेखिको अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण इलाममा एकैघरका ४ सहित १३ जनाको मृत्यु भएको छ । बुधबार साँझसम्म पहिरोले पुरेर ११, खोलाले बगाएर र रुखले किचेर १-१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी २ बेपत्ता र ४ घाइते छन् ।
प्रहरीका अनुसार फाकफोकथुम गाउँपालिकामा एकैघरका ४ सहित ६ जनाको मृत्यु भएको हो । फाकफोकथुम १ की ३० वर्षीया बिना शेर्मा, १४ वर्षे आइतबहादुर राई, वडा ३ का ८६ वर्षे नैनसिंह कटवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटवाल र १२ वर्षे निश्चित कटवालको मृत्यु भएको छ । उनीहरू सबैको पहिरोमा परी मृत्यु भएको हो ।
माङ्सेबुङ गाउँपालिका ६ का ५३ वर्षे हरिप्रसाद राई, २९ वर्षीया कविता राई, सूर्याेदय नगरपालिका–३ की ४९ वर्षीया नारायणीदेवी मोते, ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षे विशाल तामाङको पनि पहिरोमा परी ज्यान गएको छ । देउमाई नगरपालिका–२ की सरिता आचार्यको स्थानीय लुटिमाया खोलाले बगाएर र माई नगरपालिका–३ की २५ वर्षीया तेजमाया राईको स्थानीय बेतेनी जंगलमा रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माङ्सेबुङ ६ की ८२ वर्षीया रनश्वरी राई र त्यहींकी ५३ वर्षीया हरिमाया राई पहिरोमा बेपत्ता रहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार