इलाममा नेकपा (एमाले)को अधिवेशन हुँदै, कात्तिक ६ मा वडा, ९ मा पालिका


इलाम । नेकपा (एमाले)ले यही कात्तिक ६ गते जिल्लाका वडा र ९ गते पालिका तहको अधिवेशन आयोजना गर्दैछ । अधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ कमिटी गठनको तयारी भइरहेको एमालेले जनाएको छ ।
अधिवेशनबाट जिल्लाका १० स्थानीय तह, ८१ वटै वडा र २ इलाकास्तरीय कमिटी चयन हुने जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख उमेश गुरुङले बताए । नेपाल निजामती कर्मचारी संगठन र पेशागत महासंघलाई इलाका कमिटी मानिएको छ । यी कमिटीले पनि आफ्नो नेतृत्व चयन गरी जिल्ला अधिवेशनका लागि प्रतिनिधि छान्नेछन् ।
एमाले जिल्ला सचिवालय बैठकले अधिवेशनका लागि मातहत कमिटीलाई विभिन्न निर्णय सर्कुलर गरिसकेको छ । पालिका र वडा कमिटीलाई आउँदो ५ गतेभित्र सबै संगठित सदस्यको आधिकारिक विवरण अद्यावधिक गरी पेश गर्न निर्देशन गरिएको गुरुङले बताए । वडा कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित ३१ सदस्यीय हुनेछ । एकतिहाई सदस्य महिला हुनेछन् । पालिका तथा वडामा पदाधिकारी र ९० प्रतिशत सदस्य निर्वाचित हुनेछन् । १० प्रतिशत सदस्य निर्वाचित कमिटीले मनोनित गर्नेछ । ‘मनोनित १० प्रतिशत सदस्य समावेशी प्रतिनिधित्व सुनिश्चितताका लागि हुनेछ,’ गुरुङले भने ।
संगठित सदस्यका आधारमा वडाबाट कम्तीमा १० प्रतिशत प्रतिनिधि पालिका अधिवेशनका लागि चुनिनेछन् । गुरुङले भने, ‘संगठित सदस्यको संख्याका आधारमा प्रतिनिधि छनौट गर्न जिल्ला कमिटीले पालिका कमिटीलाई जिम्मेवारी दिएको छ ।’ यी प्रतिनिधिले पालिका कमिटी निर्वाचित गर्नेछन् । जिल्लामा एमालेका १२ हजार हाराहारी संगठित सदस्य रहेको पार्टीले जनाएको छ ।
हरेक ३ वर्षमा एमालेका विभिन्न तहको अधिवेशन हुन्छ । पार्टी महाधिवेशनपछि जिल्ला अधिवेशनको मिति तोकिने एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार